प्राकृतिक प्रकोपको चपेटामा म्याग्दीको तातोपानी कुण्ड (फोटोफिचर)


प्रताप बानियाँ, म्याग्दी । नजिकै रहेको म्याग्दी खोलाको कटान, बाढीपहिरो तथा भू–क्षयलगायत प्राकृतिक प्रकोपका कारण तातोपानी कुण्ड उच्च जोखिममा परेको छ । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा रहेको प्राकृतिक तातोपानीको मुहान र कुण्ड प्रकोपको चपेटामा परेको हो ।

म्याग्दीखोला किनारमा रहेको तातोपानी कुण्ड र मुहानमा वर्षेनी आउने नदीको वर्षात्को भेलेले असर पु¥याउँदै आइरहेको छ । नदीमा उर्लिएर आउने भेलका कारण तातोपानीका मुहान र धारा पुरिने, कुण्डको पर्खालमा क्षति पु¥याउने र गाडेका पिल्लरहरुमा असर गर्ने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । यसपालीको वर्षाका कारण तातोपानी कुण्डमाथी रहेको जमिन भासिएको छ ।

तातोपानी बजारको ढल व्यवस्थापन गर्ने क्रममा कुण्डमाथी थुपारिएको ढुङ्गा, गिटी र बालुवाका कारण वर्षाको पानी जम्मा हुँदा जमिन भासिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताउनुभयो । उहाँका अनुसार बजारको ढल निकासको नाली विस्तार गर्ने क्रममा तातोपानी कुण्डको माथिल्लो भागको झण्डै २० मिटर जमिन तल भासिएको हो । जमिन भासिएपछि तातोपानी कुण्डमा स्नान गर्नका लागि जान बनाइएको प्लाष्टरको सिँढी भत्किनुका साथै पुरिएको उहाँले जानकारी दिनुभयो ।

जमिन भासिँदा कुण्डमा जाने पदमार्ग, बेनी–दरबाङ सडकखण्डको तल्लो बजार जोड्ने सडकलाई समेत प्रत्यक्ष असर गरेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष शाक्यको भनाई छ । ‘तत्काल मर्मतसम्भार नगरे कुण्डलाई नै ठूलो क्षति हुने देखिन्छ, सडक भासिएपछि माटोले पुरेर आवतजावत गर्ने व्यवस्था मिलाइएको छ’ उहाँले भन्नुभयो । जमिन भासिएपछि कुण्डको मुहानमा असर पुगेको उहाँले बताउनुभएको छ ।

विगतका समयमा पनि तातोपानी कुण्ड आसपासका क्षेत्रमा जमिन भासिएको कारण तातोपानीका मुहान सुक्ने, अर्को स्थानमा पानीका मुहान देखिने गरेको समितिले जानकारी दिएको छ । जमिन भासिएपछि कुण्डको आम्दानीबाट सामान्य मर्मत गरिए पनि थप मर्मतका लागि बेनी नगरपालिकालाई बजेट माग गरिएको अध्यक्ष शाक्यले बताउनुभयो । जमिन भासिएको क्षेत्रमा ठूला सवारीसाधनहरु आवतजावतमा रोक लगाइएको समितिले बताएको छ । पछिल्लो केही समययता कुण्ड आसपासका क्षेत्रमा जमिन भासिने गरेको हुँदा भविष्यमा तातोपानीको स्रोत नै बन्द हुन सक्ने सम्भावना रहेको भन्दै स्थानीयले भू–र्गभविद्लाई नै बोलाएर अनुसन्धान गर्नुपर्ने माग समेत गरेका छन् ।

यसैबीच उता तातोपानी स्वास्थ्यचौकीको पनि करिब ५० मिटर जति जमिन भासिएको बताइएको छ । स्वास्थ्यचौकीको नवनिर्मित भवन आसपासका क्षेत्रमा जमिन भासिएपछि भवनमा जोखिम बढेको स्थानीय युवा कुमार केसीले बताउनुभयो । बजार क्षेत्रको जमिन भासिएपछि स्थानीयवासिन्दामा त्रास फैलिएको बताउँदै उहाँले थप क्षति हुनबाट जोगाउन तत्काल मर्मतसम्भारको आवश्यकता रहेको बताउनुभयो । भिरालो जमिन, कमजोर भू–बनोट, जथाभावी सडक विस्तार, भूमिगत जलप्रवाहलगायतका कारण जिल्लाका अधिकांश ग्रामीण बस्तीहरु बाढीपहिरो र भू–क्षयको जोखिममा परेका छन् ।