निर्वाचन तालिममा भत्ता विवाद


शिवहरि प्रसाद भट्टराई, राजविराज । तालिम भत्ता सम्वन्धि विवादका कारण सप्तरीको राजविराजमा शुक्रवार आयोजना गरिएको मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको तालिम अवरुद्ध भएको छ ।
विहिवार देखि सुरु भएको दुई दिने तालिमको दोश्रोदिन केहि घण्टा चलेपनि तालिमका सहभागीहरुलाई दिईने भत्ता र यातायात खर्चमा विवाद भएपछि तालिम कार्यक्रम अवरुद्ध भएको हो ।

तालिमका सहभागीहरुले प्रतिदिन पाँच सयका दरले दिइने भत्तामा भ्याट कट्टा गर्ने र यातायात खर्च राजविराज नगरपालिका क्षेत्रकालाई दैनिक पाँच सय र बाँकीलाई दुरीका हिसावले एक हजार देखि एक हजार पाँच सय सम्म दिइने जानकारी पाएपछि विरोध गरेका थिए
।  नमूना मतदान गर्न बाँकी रहदैको समयमा विवाद उत्पन्न भएपछि जिल्ला निर्वाचन कार्यालय र तालिमका सहभागी प्रतिनिधिविच केहि घण्टा वार्ता भएको थियो । ४ घण्टा लामो वार्तामा राजविराज नगरपालिका क्षेत्रबाट सहभागी भएकाहरुलाई जम्मा तीन हजार एक सय र अन्यलाई चार हजार दुई सय दिने कुरामा सहमति भएपछि विवाद अन्त्य भएको तालिमका सहभागी वेल्ही चपेना गाउँपालिकाका कार्यकारी अधिकृत रामकुमार यादवले बताए ।
उनले भने–‘नमूना मतदान गराउने समयमा विवाद उत्पन्न भएपछि आधा दिन वार्तामै वितेको छ, सहभागीहरु अधुरो तालिम लिएर फर्किएका छन् ।’ अरु जिल्लामा निर्वाचन हुँदा दिइएको अनुसार नै आफुहरुले भत्ताको रकम पाउनुपर्ने सहभागीहरुले दावी गरेपछि तालिम प्रभावित बनेको यादवको भनाई छ ।

भत्ता रकमको विषयमा शुक्रवार विवाद भएपछि पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालय राजविराजको तालिम हल बाहिर निस्किएर बसेका तालिमका सहभागीहरु ।