दरबन्दीमा १६ जना, काममा ५ जना डाक्टर

0
Shares

 

अनिल खत्री, गुल्मी
गुल्मी जिल्लामा रहेको अस्पताललाई १५ शैय्याको बनाउन सरकारले स्तरवृद्धि गरेर ५० शैय्याको बनाएको छ। तम्घास अस्पताललाई सरकारले ३ वर्षअघि स्तरवृद्धिको घोषणा गरेकोमा सो घोषणा अहिले घोषणामा मात्रै सीमित भएको छ। जसका कारण अरूको उपचार गर्ने जिल्ला अस्पताल आफैं थला परिरहेको छ। जिल्ला अस्पतालमा १६ जना डाक्टरको दरबन्दी छ, तर ११ जनाको दरबन्दी खाली छ।

बिरामीको चाप बढ्दै जाने तर डाक्टरहरूको दरबन्दी नबढ्दा अस्पताल र सेवाग्राही समस्यामा परेको अस्पताल विकास समितिका अध्यक्ष विनोदप्रसाद पाण्डेयले बताए। ‘दरबन्दी र भौतिक पूर्वाधार सुविधा १५ शैय्याकै भयो, तर सरकारले ५० शैय्या बनायो’, उनले भने– ‘अस्पताल विकास समितिले आन्तरिक स्रोतबाट ३० शैय्याको बनाएको छ।’

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्यामकिशोर चौधरीका अनुसार १६ जना डाक्टरहरूको दरबन्दी रहेकोमा ११ जना डाक्टर सरकारले पठाएको छैन। विशेषज्ञ डाक्टरको दरबन्दी पनि खाली छ। सरकारले जम्मा ४ जना मेडिकल अधिकृतस्तरका डाक्टर र एक जना डेन्टल सर्जन डाक्टर पठाएको चौधरीले बताए।

लामो सयमदेखि निक साइमन इन्स्टिच्युट काठमाडौंले पठाएका एक जना विशेषज्ञ डा. प्रकाश पुन मगरले सेवा दिइरहेका थिए। तर, उनको पनि सरुवा भएको छ। ३ वर्षअघि ५० शैय्याको अस्पताल घोषणा भए पनि औषधि उपचारका लागि न कुनै रकम, न भौतिक पूर्वाधार र जनशक्ति सरकारले पठाएको मेडिकल सुपरिटेन्डेन्ट चौधरीले बताए।

जिल्ला अस्पताल तम्घासलाई राम्रो बनाउन धेरै प्रयास भइरहेको भए पनि सोचेजस्तो सफलता प्राप्त नभएको पूर्वअस्पताल विकास समितिका अध्यक्ष शेरबहादुर थापाले बताए।

‘जिल्ला अस्पताल तम्घासमा केन्द्रबाट डाक्टरहरू आउनै मान्दैनन्, आए पनि धेरै समय बस्दैनन्’, उनले भने– ‘उनीहरूका लागि अरू अवसरहरू पनि कम छन्।’ जिल्ला अस्पताल तम्घासलाई राम्रो बनाउनुपर्ने सरोकारवालालाई अन्य अस्पताल र मेडिकलहरूको धन्दामा लागेका कारण समस्या भएको कतिपयको गुनासो छ।

जिल्ला अस्पताल तम्घासलाई थप सुविधा सम्पन्न गराउँदै विशेषज्ञ सेवा प्रदान गर्ने गरी योजना बनाइएको रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए। ‘मैले पहिलेदेखि नै अस्पतालको समस्या बुझेको छु, अहिले काम गर्ने मौका जनताले दिए’, उनले भने– ‘जनताकै उपचार गर्ने अस्पताल बिग्रिन दिने छैन्।’ साथै हरेक वार्डमा गर्भवती महिलाका लागि बर्थिङ सेन्टर स्थापना गर्दै भएका स्वास्थ्य चौकीको स्तरोन्नति गर्ने पनि भुसालले बताए।

जिल्ला अस्पतालमा छिमेकी जिल्ला बाग्लुङ, अर्घाखाँची र प्यूठानका समेत बिरामी उपचारका लागि आउँछन्। जसका कारण अस्पतालमा सेवाग्राहीको चाप निकै हुने गर्दछ। दैनिक २ सय जनासम्म विरामीको स्वास्थ्य चेकजाँच हुने अस्पतालको रेकर्ड छ। गाउँबाट सामान्य चेकजाँच गर्न जिल्ला अस्पताल तम्घास आएपनि एक रात होटलमै बस्नुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ। ‘१० बजे आएपछि दुई घण्टा लाइनमा कुर्नुपर्छ, चेक गर्दागर्दै २ बज्छ’, इस्मा गाउँपालिका–३ का केयरसिंह खड्काले भने– ‘जिल्ला अस्पताल नामको मात्रै भयो।’

जम्मा वार्षिक ३ लाखको भरमा चलेको त्यस अस्पतालमा गत आर्थिक वर्षमा १५ लाख रुपियाँ आएको र त्यसबाट औषधि पुर्याइएको डाक्टर चौधरीले जानकारी दिए।

बिरामी मात्र होइन त्यस अस्पतालमा प्रसूति सेवा लिन आउने महिलाको संख्या पनि बढ्दो छ। गएको आर्थिक वर्षमा महिला पुरुष गरी करिब २५ हजार जनाले ओपीडी सेवा लिएका छन् भने ५ हजारले इमरजेन्सी तथा २ हजारले इन्डोर सेवा लिएको अस्पतालको रेकर्डमा उल्लेख छ।
त्यस्तै, सामान्य, जटिलयुक्त र शल्यक्रिया गरी करिब ८ सय जनाले प्रसूति सेवा लिएका छन्। ३ सय जनाले नियमित गर्भवती अवस्थाको परीक्षण गराएका छन्।