इक्यानको २१औं स्थापना दिवस मनाइयो

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल शैक्षिक परामर्श संघ नेपाल (इक्यान)ले २१औं स्थापना दिवस मनाएको छ। सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर वस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँले नेपालमा रेमिट्यान्स भित्र्याउन संघले गरेको योगदानको कदर गर्नुभयो। उहाँले शिक्षा क्षेत्रको विकासका लागि संघले गरेको कार्यक्रमको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो– ‘अब तपाईंहरूले नेपाली विद्यार्थीलाई विदेश पठाउने मात्र होइन विदेशी विद्यार्थीलाई नेपालमा ल्याउने काम पनि गर्नुस्।’ उहाँले संघमार्फत कति विद्यार्थी विदेशमा अध्ययन गरिरहेका छन्, त्यसको तथ्याङकसमेत राख्नु जरुरी रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा बोल्दै नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले इक्यानले शिक्षा क्षेत्रमा दर्जनौं काम गरेको बताउँदै अझै थुप्रै र व्यवस्थित रूपमा आफ्ना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो। नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधरले करिब ३ सय सदस्य रहेको इक्यानले देशको शैक्षिक क्षेत्रको उन्नययनका लागि गरेको योगदान उल्लेखनीय रहेको बताउनुभयो। अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरीले इक्यानले विदेशी विद्यार्थीलाई नेपालमा आकर्षण गर्नुपर्ने बेला आएको औल्याउँदै विदेशमा मात्रै पठाउने प्रवृति रोक्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘आफ्ना सदस्य संस्था कति नियमसंगत सञ्चालन भएका छन वा छैनन् भन्ने विषयमा समेत अध्ययन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो।’ इक्यानका तृतीय उपाध्यक्ष विष्णुहरि पाण्डेले इक्यानले मुलुकको शैक्षिक क्षेत्रको विकासका लागि गरेको योगदान महत्त्वपूर्ण रहेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘हामीले उल्लेखनीय काम गर्दागर्दै पनि हामीमाथि विभिन्न किसिमका आरोप लाग्ने गरेका छन् यसलाई चिर्न जरुरी रहेको छ।’ उहाँले शैक्षिक विकृति र विसंगति विरुद्ध इक्यानले विभिन्न पहल गर्दै आएको समेत बताउनुभयो।

अध्यक्ष प्रकाश पाण्डेले शैक्षिक परामर्श व्यवसायीका माध्यमबाट नेपालबाट शैक्षिक जनशक्ति विदेसीरहेको गुनासो आइरहेको सन्दर्भमा शैक्षिक परामर्शदाताहरूकै छाता संगठन इक्यानले विगत लामो समयदेखि नेपालमा विदेशी विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि आमन्त्रण गर्नुपर्छ भन्ने अभियान थालेको बताउनुभयो। उहाँले दक्ष एवं शिक्षित युवाहरूलाई विदेश पलायन हुनबाट निरुत्साहन गर्ने र विदेशमा शिक्षा आर्जन गरिसकेका युवाजनशक्तिलाई स्वदेशमा फर्काउने अभियानको अगुवाइ इक्यानले गरेको बताउनुभयो। संघले राष्ट्र विपदको बेलामा जहिले पनि राहतमा अग्रसरता देखाउँदै आएको र हालसालै आएको बाढीपहिरोमा परि विक्षिप्त भएका नेपालीजनको आहतमा राहत दिनका लागि सदस्य कम्पनी विभिन्न व्यक्तिबाट संकलित ५ लाख रुपियाँ प्र्रधानमन्त्री दैविप्रकोप राहत कोषमा जम्मा गरेको र ४ लाख रुपियाँबराबरको खाद्यान्न सामग्री सर्लाही जिल्लाका बाढीपीढितलाई वितरण गरेको जानकारी दिनुभयो। स्थापना दिवसमा संघले प्रभातफेरी कार्यक्रमम गरेको थियो।

वार्षिक उत्सवको अवसरमा यस संघको चितवन शाखाले विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरेको जनाएको छ। उक्त अवसरमा आदर्श गृहमा रहेका ४५ जना बालबालिकालाई खाना प्रदान गरेको थियो।