तरकारी बेचेर मनग्य आम्दानी

0
Shares

 

विमल विष्ट, डोटी

साबिकको घण्टेश्वर– १ गोगनपानीका किसान लालबादुर खड्काले हिजोआज तरकारी बेचेर मासिक हजारौं आम्दानी गर्न थाल्नु भएको छ। जिल्ला कृषि बिकास कार्यालय डोटीको सहयोगमा उहाँले गोगनपानीमा तरकारी संकलन तथा बिक्रि केन्द्र समेत सञ्चालन गर्नु भएको छ। आफूले फलाएको तथा अन्य किसानबाट उहाँले विभिन्न मौसमी तथा बेमौसमी तरकारी संकलन गरी बिक्री गरेर मासिक ४०–५० हजार आम्दानी गर्न थाल्नु भएको छ। तरकारी बिक्रीबाट भएको आम्दानीले दुई छोरा र दुई छोरीलाई बोर्डिङ स्कुलमा पढाउन सक्षम हुनुभएको छ। ६ जनाको परिवारलाई तरकारी बिक्री गरेर राम्रैसंँग पाल्न सकेको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो–‘हामी श्रीमान⁄श्रीमती पसलमा हुन्छौं, तरकारी बेचेर राम्रै आम्दानी गर्न सफल भएका छौं, ग्राहकहरू संकलन केन्द्रमै (घरमै) आएर तरकारी किन्छन्, बजार धाउनु पर्दैन।’ कैलालीको अत्तरियादेखि डडेल्धुरा जोड्ने भिमदत्त राजमार्गको बीचमा पर्ने गोगनपानीमा तरकारी बिक्री तथा संकलन केन्द्र रहेकाले पनि सो राजमार्गमा आवत–जावत गर्ने यात्रुले प्रायः गरी बढी तरकारी किन्ने गरेको उहाँको भनाइ छ। आफूले सञ्चालन गरेको व्यवसायप्रति सन्तुष्ट रहेको उहाँ बताउनु हुन्छ। उहाँले भन्नुभयो–‘पैसा कमाउन विदेश धाउनु पर्दैन मेहनत गरे घरैमा जति पनि कमाउन सकिन्छ।’ उहाँले यो व्यवसाय सञ्चालन गरेको एक वर्षमात्रै हुन थालेको छ। तरकारी बेचेको आम्दानीले उहाँले कैलालीमा जमिन र घरसमेत बनाइसकेको बताउनुभयो।

उहाँले संकलन गरेको तरकारी दिपायल, डडेल्धुरा, बैतडी, कैलाली, कञ्चनपुर तथा नेपालगन्जसम्म जाने गरेको छ। जिल्ला कृषि विकास कार्यालय डोटीले यहाँका किसानलाई समूह गठन गरी विभिन्न अनुदान सहयोग तथा तरकारीलगायत अन्य किसिमका बीउ वितरण गरेपछि अहिले डोटीका किसान व्यावसायिक रूपमा तरकारीलगायत अन्य फलफूल खेतीमा आकर्षित हुन थालेको वरिष्ठ कृषि विकास अधिकृत डा. तपेन्द्रबहादुर शाहले बताउनुभयो।
उहाँले भन्नुभयो–‘धान खेती नहुने पाखो जमिनमा हामीले किसानलाई आलु, मुला, सिमी, सिम्ला, टमाटरलगायतका मौसमी तथा बेमौसमी तरकारी लगाउन सहयोग र सल्लाह दिएकाले पनि अहिले डोटीमा तरकारी खेती फस्टाउँदै गएको छ, अझै धेरै ठाउँमा सहयोग गर्ने तयारीमा छौं।’