जागिर खोज्ने सरकारी पोर्टल

0
Shares

 

काठमाडौं, (नेस)
सरकारले अनलाइनमार्फत् रोजगारीको अवसर खोज्ने व्यवस्था मिलाएको छ। श्रम तथा रोजगार मन्त्रालयले निजी क्षेत्रको रोजगारीलाई केन्द्रमा राख्दै नयाँ वेबसाइट सञ्चालनमा ल्याएको हो। नयाँ वेबसाइटको नाम रोजगार पोर्टल राखिएको छ।
बेरोजगार युवालाई स्वदेशमै रोजगारीका अवसरमा पहुँच पुर्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो। नयाँ वेबसाइटमा रोजगार सूचना केन्द्रले समेत यसका लागि सहजकर्ताको भूमिका खेल्ने बताइएको छ।

नयाँ अनलाइन जब पोर्टलको श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले गर्नुभएको हो। उद्घाटन समारोहमा मन्त्री मन्सुरले नयाँ वेबसाइट रोजगारदाता र रोजगारी खोज्नेका लागि समन्वयको काम गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै मन्त्री मन्सुरले भन्नुभयो–‘नेपालभित्रै विविध क्षेत्रमा रोजगारीको अवसर रहेको छ। तर, यहाँ रोजगारीका लागि विदेशिनै पर्छ भन्ने बाध्यकारी मानसिकता छ।’ नयाँ वेबसाइट त्यो चिर्न सफल हुने उहाँको विश्वास थियो।

श्रम तथा रोजगार मन्त्रालयसँगको सहकार्यमा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालले शुक्रबारदेखि नयाँ वेबसाइट सञ्चालनमा ल्याएको हो। वेबसाइट सञ्चालनमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को सहयोग रहेको छ।

नयाँ वेबसाइटले बेरोजगारको लगत संकलन गरी विभिन्न रोजगारदातासँग समन्वय गरी त्यहाँ रिक्त रहेका तथा नयाँ पद पूर्तिका लागि आवश्यक जनशक्ति उपलब्ध गराउन सहयोग गर्ने बताइएको छ। साथै वेबसाइटले बेरोजगार युवा तथा रोजगारदाताको बीचमा मध्यस्थकर्ताको काम गरी दुवैको आवश्यकता पूर्ति गर्नेछ।

त्यसका माध्यमबाट रोजगारीको खोजीमा रहेका व्यक्तिहरूले शैक्षिक योग्यता, अनुभव, इच्छा र चाहेको तलबसमेत उल्लेख गरी निःशुल्क निवेदन फारम भर्नुपर्नेछ। अर्कोतर्फ, रोजगारदाता कम्पनीले योग्यता, अनुभव र प्रस्तावित तलबसहितको जनशक्ति आवश्यकताको सूचना फारम भर्नुपर्नेछ।

त्यस्तै रोजगारको खोजीमा रहेकाले आफूले चाहेको काम, सिकेको सीप तथा शैक्षिक योग्यतालगायतका विवरणसहितको व्यक्तिगत विवरण पठाउन सक्नेछन् भने रोजगारदाताले आफूले चाहेको कामदार, पदलगायतका विवरण पठाउन सक्नेछ। यसरी वेबसाइटले डाटाबेस निर्माण गरी रोजगारीको समस्या हल गर्ने गरेको छ।

उद्घाटन समारोहमा श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनाली, आईएलओ नेपालका देशीय निर्देशक रिचार्ड हवार्डलागएतको उपस्थिति थियो।