नियमित स्याहार चाहिने वृद्धवृद्धा बढे


 

लन्डन, (एजेन्सी)
इंगल्यान्डमा जीवनको उत्तराद्र्धतिर मानिसको नियमित स्याहासुसारको समय दुई दशक यता दोब्बर भएको एक अध्यनले देखाएको छ। दि न्युक्यासल युनिभर्सिटीले गरेको यस अध्ययनअनुसार मृत्युपूर्व पुरुषलाई औसतमा २ वर्ष ४ महिना र महिलालाई ३ वर्ष नियमित रूपमा स्याहार्नु आवश्यक पर्ने गरेको छ।

उक्त स्याहारसुसारअन्तर्गत धोइपखालीदेखि लुगा लगाइदिनु र प्रत्येक दिन चौबिसै घन्टा तिनीहरूको निगरानी पर्दछ। अनुसन्धानकर्ताहरूले वृद्धवृद्धाको यस्ता समस्या समाधानका लागि बेलायतमा थुप्रो संख्यामा स्याहार गृह खुलिरहेको बताउँछन्। मन्त्रीहरूले पनि यस प्रणालीका लागि नयाँ तरिकाबाट कोष जुटाउने बारे सोच्ने गरेका छन्। परिषद्हरूले वृद्ध जनताको समस्यालाई आवश्यक सहयोग पुर्याउन संघर्ष गरिरहेको प्रतिवेदनहरू सार्वजनिक भइरहेका बेला सरकारले पनि प्रमुख सुधारका लागि वाचा गरेको छ।

दि लान्सेटमा प्रकाशित पछिल्लो अनुसन्धानले वृद्धवृद्धाको संख्यामा वृद्धि मात्र नभइ तिनीहरूलाई कति वर्षसम्म दैनिक स्याहार गर्न सकिन्छ भन्ने तथ्य पनि उल्लेख गरिएको छ। सन् १९९१ देखि २०११ बीच औसत आयुमा चार वर्षभन्दा धेरै बढेर पुरुष र महिलाको आयु क्रमशः ८२ वर्ष ६ महिना र ८५ वर्ष ६ महिना हुन पुगेको थियो।

तर त्यही अवधिभित्र महिला र पुरुषलाई चाहिने स्याहारको समयमा भने तिव्र वृद्धि भएको छ। पुरुषका लागि समय १ वर्ष १ महिनाबाट २ वर्ष ४ महिना र महिलाका लागि १ वर्ष ६ महिनाबाट ३ वर्षमा वृद्धि हुन पुगेको छ।

अनुसन्धानकर्ताहरूले सन् २०२५ सम्ममा यस्तो स्याहार चाहिने वृद्धवृद्धाको संख्या अझै ३ लाख ५० हजार थपिने भविष्यवाणी गरेका छन्।