डेरा सच्चा सौदा प्रमुख राम रहिम दोषी ठहर, हिंसामा कम्तीमा २८ को मृत्यु


 

नयाँदिल्ली, (एजेन्सी)
डेरा सच्चा सौदा धार्मिक सम्प्रदायका प्रमुख गुरमित राम रहिम सिंहलाई बलात्कारको मामिलामा दोषी ठहर्याएपछि पन्जाब र हरियाणामा भड्केको हिंस्रक घटनामा कम्तीमा २८ जनाको मृत्यु भएको छ।

उनीहरू सबैको मृत्यु पञ्चकुलामा भएको डेरा समर्थक र प्रहरीबीचको हिंसात्मक झडपमा भएको भारतीय सञ्चारमाध्यमहरूले जनाइएको छ। हिंसात्मक घटना चर्किएपछि पञ्चकुला र सिरसामा सेना परिचालन गरिएको छ।

ती दुई राज्यका कयौं स्थानमा डेरा समर्थक र प्रहरीबीच झडप भएका थिए। मारिने सबै पञ्चकुलाका भएको र मुठभेडका क्रममा अन्य सयौं संख्यामा घाइते भएको प्रहरीले जनाएको छ।

गैरआयमूलक सामाजिक तथा आध्यात्मिक संस्था डेरा सच्चा सौदाको स्थापना सन् १९४८ मा मस्ताना बलोचिस्तानीले गरेका थिए। यो संस्थाको प्रमुख केन्द्र हरियाणाको सिरसामा रहेको छ। भारतमा यसको ४६ वटा आश्रम छन् भने यसका शाखाहरू अमेरिका, क्यानडा, युनाइटेड अरब इमिरेट्समा पनि छन्। सन् १९९० मा गुरमित सिंहले डेरा प्रमुखको गद्दी सम्हालेका हुन्।

सन् १९६७ अगस्ट १५ मा जन्मेका गुरमित सिंह धार्मिक गुरुमात्र नभएर सामजिक सुधारक, अभिनेता, निर्देशक र गायक पनि हुन्। उनले सन् २०१५ मा फिल्ममा प्रवेश गरेका थिए। उनले ५ वटा फिल्ममा काम गरिसकेका छन्। उनको पहिलो गीति एल्बम ‘हाइवे लभ चार्जर’ सन् २०१४ मा बजारमा आएको थियो। सन् २०१५ मा इन्डियन एक्सप्रेसले सिंहलाई १ सय प्रभावशाली व्यक्तित्वको सूचीमा ९६औं स्थानमा राखेको थियो।

डेराकै साध्वीद्वारा आरोप
सन् २००२ मा डेरा सच्चा सौदा प्रमुख गुरमित सिंहमाथि यौन शोषणको आरोप लगाउँदै डेराका एक साध्वीले तात्कालीन प्रधानमन्त्री अटल विहारी वाजपेयीलाई बेनामी पत्र पठाएकी थिए। त्यसको एक प्रति पन्जाब र हरियाणा उच्च न्यायालयका प्रमुख न्यायाधीशलाई पनि पठाइएको थियो।

उच्च अदालते सन् २००२ सेप्टेम्बर २४ मा साध्वी यौन शोषण मामिलामा जाँच गर्न आदेश दिएको थियो। सन् २००३ नोभेम्बर १० मा पन्जाब र हरियाणा उच्च अदालतले सीबीआईलाई एफआईआर दर्ता गरी जाँच गर्न आदेश जारी गरेको थियो।

सन् २००७ जुलाई ३१ मा हत्या तथा साध्वी यौन शोषणको मामिलामा छानबिन पूरा भयो। सीबीआईले तीनैवटा मामिलामा डेरा प्रमुख गुरमित सिंहलाई मुख्य आरोपी बनायो। डेराले सीबीआईका विशेष जजलाई पनि धम्कीपूर्ण पत्र पठाएपछि न्यायाधीशले पनि सुरक्षा माग गर्नुपरेको थियो।

शुक्रबार पञ्चकुलाको सीबीआई अदालतले राम रहिमलाई बलात्कारको मुद्दामा दोषी ठहर्याएको छ। अगस्ट २८ मा उनीविरुद्ध सजायको फैसला हुनेछ।
यसैबीच डेरा सच्चा सौदाका एक प्रवक्ता डाक्टर दिलावर इंशाले भने– ‘हामीमाथि अन्याय भएको छ। हामी अपिल गर्छौं। हामीमाथि त्यही भएको छ, जुन इतिहासमा गुरुहरूमाथि हुने गरेको थियो। डेरा सच्चा सौदा मानवताको भलाइका लागि हो। सबैले शान्ति बनाइराख्नू।’

हरियाणाको पञ्चकुला र पञ्जाबको फिरोजपुर, बठिण्डा र मानसामा कफ्र्यु लगाइएको छ। फतेहावाद, जयतो र फरिदकोटमा रेड अलर्ट जारी गरिएको छ।
दिल्लीका उपराज्यपाल अनिल बैजलले दिल्ली प्रहरी कमिस्नरलाई धनजनको सुरक्षाका लागि आवश्यक कदम चाल्न भनेको समाचार एजेन्सी पीटीआईले जनाएको छ। यसबीच हरियाणाको सिरसामा स्थिति नियन्त्रणका लागि प्रहरीले सेनाको मद्दत मागेको छ।

दिल्ली प्रहरीले हिंसा फैलाएको घटनामा दिल्लीबाट ३ जनालाई पक्राउ गरिसकेको एक पत्रकार सम्मेलनमा जानकारी दिए। त्यसैगरी संगरुरमा प्रहरीले ४ जनालाई पेट्रोल बमसहित गिफ्तार गरिएको जनाइएको छ। पञ्चकुलामा केही सरकारी भवनमा आगजनी गरेका थिए। हरियाणाका मुख्यमन्त्रीका सञ्चार सल्लाहकार अमित आर्यले भने– ‘हामीले पञ्चकुलामा कफ्र्यु लगाइएको छ। थप कारबाहीका लागि हरियाणा क्याबिनेटको बैठक बस्नेछ।’
हरियाणा र पञ्जाबमा भइरहेको हिंसाको प्रभाव रेल यातायातमा पनि परेको छ। उत्तर रेलवेले उक्त राज्य भएर जाने रेल सेवा रद्द गरेको छ। रेलवे प्रवक्ताले दिल्लीको आनन्द विहार रेलवे स्टेसनमा रोकेको रीवा एक्सप्रेसको दुई डिब्बामा आगो लगाइएको घटनाका बारेमा पनि जानकारी दिएका छन्।

हिंसात्मक घटनाका कारण पञ्जाबका थुप्रै जिल्लामा स्कुल र कलेज अगस्ट २६ सम्मका लागि बन्द गरिएको छ। त्यसैगरी राजस्थानको गंगानगर जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ।