“उत्तर कोरियामाथिको सैनिक कारबाहीको अझै विकल्प छ”


 

वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एक वरिष्ठ सैनिक सल्लाहकारले उत्तर कोरियामाथिको सैनिक प्रतिक्रिया निकै भयावह हुने तर अझै पनि यसको विकल्प बाँकी नै रहेको बताएका छन्। अमेरिकी संयुक्त फौजका अध्यक्ष जनरल जोसेफ डनफोर्डले चीन भ्रमणको क्रममा बिहीबार सो कुरा बताएका हुन्।

उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर ट्रम्पको वरिष्ठ ससहयोगीको हिसाबले उत्तरमाथि हुनसक्ने सैनिक कारबाही सम्बन्धमा सोधिएको प्रश्नमा उनले यो जवाफ दिएका हुन्। प्योङयाङले क्षेप्यास्त्र परीक्षणलाई निकै तीव्रता दिन थालेपछि अमेरिका र उत्तर कोरियाबिच तनाव चर्केको हो।

उत्तर कोरियाले प्रशान्त क्षेत्रमा रहेको अमेरिकी भू–भाग गुआममा आणविक आक्रमण गर्ने चेतावनी दिएपछि ट्रम्पले उत्तरमाथिको अमेरिकी आक्रमण अकल्पनीय हुने बताएका थिए।

तर, उत्तर कोरियाका नेता किम जोङ उनले गुआम माथिको आक्रमण योजना केही समयका लागि स्थगित गरेको थाहा पाएपछि ट्रम्पले उनको प्रशंसा गरेका छन्। ट्रम्पले किमले निकै बुद्धिमानीपूर्ण निर्णय गरेको बताएका छन्। केही दिनअघि मुन जाय इनले राष्ट्रपति ट्रम्पलाई उत्तर कोरियासँगको सम्भावित युद्ध रोकिदिन आग्रह गरेका थिए।

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसका प्रमुख रणनीतिकार स्टिभ ब्यान्नोनले बुधबार सैनिक कारबाही समस्याको समाधान हुन नसक्ने बताएका थिए। पछिल्लो क्षेप्यास्त्र परीक्षणपछि अमेरिकाको पहलमा संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि थप नाकाबन्दी लगाएको थियो।

त्यसैलाई अनुशरण गर्दै प्योङयाङको घनिष्ठ मित्रको रूपमा चिनिने चीनले समेत उत्तरबाट आयातित हुँदै आएका केही वस्तुमाथि रोक लगाउने निर्णय गरेको थियो।