दक्षिण ललितपुरमा डिप्रेसनका २ सय बिरामी

0
Shares

 

सुरेश तामाङ, ललितपुर
ललितपुर जिल्लाको दक्षिण भेगमा २ सयभन्दा बढी मानसिक रोगका बिरामी भएको पाइएको छ। जिल्लाको दक्षिणी भेगहरू लेले, छम्पी, नल्लु, भारदेउ र चौघरेमा गरिएको एक सर्वेक्षणले डिप्रेसनका बिरामीहरू पाइएका हुन्।

कोशिस र लेले प्राथमिक स्वास्थ्य केन्द्रले भूकम्पपछि उत्पन्न भएको तनाव व्यवस्थापन गर्न बिरामीको खोजी गर्दै जाँदा डिप्रेसनका बिरामी धेरै पाइएको कोशिसका मनोविमर्शकर्ता सन्दिप बस्नेतले बताउनुभयो।

उहाँका अनुसार डिप्रेसनका धेरैजसो बिरामीमध्ये महिला धेरै रहेका छन्। ‘७० प्रतिशतभन्दा बढी महिलाहरू डिप्रेसनका बिरामी भएको पाइयो।’ कोशिसका मनोविमर्शकर्ता बस्नेतले भन्नुभयो, ‘आर्थिक अभाव, भूकम्प, घरायसी तनावले गर्दा यस्तो समस्या देखिएको हो।’

बिरामीहरूमा एक्लोपन, साथीभाइसँग घुलमिल गर्न मन नगर्ने, काम गर्न मन नलाग्ने, धेरै डर लागिरहने डिप्रेसनका लक्षणहरू देखापरेको बताइन्छ। मनोपरामर्श गरेरै कम गर्न सकिने यस रोगलाई लामो समयसम्म राख्नाले जटिल समस्या देखिने हुनाले तुरुन्तै स्वास्थ्य जाँच गर्न मनोविमर्शकर्ताहरूले सुझाव दिएका छन्।

डिप्रेसन रोगसम्बन्धी सही सूचनासहित चेतना फैलाउने, घरायसी वातावरण राम्रो बनाउन प्रेरित गर्नाले पनि धेरै हदसम्म डिप्रेसनलाई हटाउन सक्छ।

प्राथमिक स्वास्थ्य केन्द्र लेलेमा कोशिससँगको सहकार्यमा प्रत्येक महिनाको चौथो बुधबार मानसिक स्वास्थ्यसम्बन्धी शिविरसमेत सञ्चालन गरेको छ। जहाँ मानसिक रोगी विशेषज्ञले मनोविमर्श दिनुका साथै औषधि उपचार, थेरापी र अति नै सिकिस्त बिरामीका लागि सेफ होममा राखी उपचारसमेत गरिन्छ।

यी सेवाहरू बिरामीले निःशुल्क रूपमा पाइने स्वास्थ्य सेवा रहेको मनोविमर्शकर्ता बस्नेतले आर्थिक अभाव भएका रोगीले निःशुल्क पाइने स्वास्थ्य सेवालाई झन्झटिलो मानेर शिविरमा नआइदिने गुनासो व्यक्त गर्नुभयो।