भिरमा जोखिम मोल्दै लापुबासी, बेँशी झर्न नसक्दा खेत बाँझै

0
Shares

सन्तोष अधिकारी, गोरखा । गोरखाको उत्तरी दुर्गम धार्चेगाउँपालिकाको लापु गाउँ जाने स्थानीयहरु भीरको बाटोमा जोखिम मोलेरै जान बाध्य छन् । लापुगाउँबाट लापुबेँशीमा झर्नेबाटो पहिरोको कारणले बगाएपछि स्थानीयहरु खेतीपाती गर्न समेत जान नपाएको धार्चेगाउँपालिका ७ लापुका वडाअध्यक्ष सूर्यमान गुरुङ्गले जानकारी दिए ।

‘यसपटक बर्खामा त विजोगै भएको छ’ वडाअध्यक्ष गुरुङ्गले भने ‘लापुगाउँको करिब तीनसय घरका मानिसहरु आवतजावत गर्न समस्या भएको छ । खेती बाँझै छ । यसपाली सबै गाउँलेले धान रोप्नै पाएको छैन । केहिले मात्र रोपे ।’ लापुको भीरमा मानिसहरु अहिले पनि जोखिम मोलेरै आवतजावत गर्न बाध्य छन् । ‘विकल्पको बाटो छैन ।

मानिसहरु भीरमै जसोतसो आवतजावत गर्दै आइरहेका छन्’ वडा अध्यक्ष गुरुङ्गले भने ‘गाउँलेहरु अहिलेको लागि भन्दा पनि आगामी दिनको दिनचर्या र खाद्यन्नको चिन्ताले अताल्लिएका छन् । बाटो कसरी बनाउने भनेर जिल्ला समन्वय समिती, तथा अन्य विभिन्न क्षेत्रमा पनि बाटोघाटो बनाउनको लागि आफुले कुरा राखिसकेको उनले जानकारी दिए ।

लापुगाउँ र लापुबेँशी ओहोरदोहोर गर्ने बाटो २०७२ को गोरखा भूकम्प गएलगत्तै भत्किन थालेको स्थानीय बताउँछन् । ‘यो बाटो त भूकम्प गएपछि भत्केको होनी’ लापुका स्थानीय नरबहादुर गुरुङ्गले भने ‘अहिले पहिरो गयो झन जोखिम भयो । पहिले यहि बाटो गाई, गोरु, भैँसी लिएर हामी हिन्थ्यौँ । अहिले त मान्छे मात्र हिँड्दा पनि पाइला अड्याउने ठाउँ पुग्दैन । पानी पर्नै हुन्न पहिरो बग्न थाल्छ ।’