नेपालमा चीन विरोधी गतिविधि गर्न नदिने सरकारको घोषणा, अब खुल्लान त चीनसँग जोडिन बाँकी ११ नाका ?


काठमाडौ (नेस) । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल एक चीन नीतिको पक्षमै दृढ रहेको बताउनुभएको छ ।

साइनो नेपाल मिडिया सोसाइटीले नेपाल–चीन दौत्य सम्बन्ध कायम भएको ६२औँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपाल र चीनबीच सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध अझ सुदृढ हुँदै गएको छ भन्नुभयो ।

नेपालमा चीन विरोधी गतिविधि गर्न नदिन सरकार सदैव सचेत र सतर्क छ भन्दै मन्त्री बस्नेतले नेपालको आन्तरिक मामिलामा चीन मौन रहनु र दैवी विपत्तिमा चिनियाँ जनता नेपालीको घरदैलोसम्म पुग्नुले पनि नेपाल–चीन बीचको सम्बन्ध प्रगाढ, मैत्रीपूर्ण र भाइचारामा आधारित रहेको चर्चा गर्नुभयो । उहाँले चीनसँग जोडिन बाँकी ११वटा नाका खुलेपछि चिनियाँ र नेपाली जनताबीच अझै सुमधुर सम्बन्ध कायम हुने जानकारी दिनुभयो ।
मन्त्री बस्नेतले भूकम्पकाबेला चिन सरकारले गरेको सहयोग अनुकरणीय रहेको बताउदै नेपाल र चीनबीच राजनीतिक स्तरमा रहेको सम्वन्ध बिस्तारै जनस्तरमा प्रगाढ बन्दै गएको बताउनुभयो ।
सांसद रूपा महर्जनले छिमेकी मुलुक चीन र भारतबाट नेपालले धेरै लाभ लिन सक्ने बताउँदै नेपाल दुई देशबीच सेतुका रुपमा रहनुपर्ने बताउनुभयो ।
उहाँले चीनले लिएको वान रोड वान वेल्ट (ओआरओवी) अवधारणमा नेपालले सहमति जनाइसकेको जानकारी दिनुभयो । सन् २०१३ मा चीनका राष्ट्रपति सी जिन पिङले सो अवधारण अघि सार्नुभएको थियो । हाल सो अवधारणमा नेपालसहित ६८ राष्ट्रले सहमति जनाइसकेका छन् ।
नेपालका लागि चीनका राजदूत यू ह्वाङले नेपाल र चीन सरकारबीचको सम्बन्ध पुरानो र जनस्तरसम्म फैलिएको बताउनुभयो ।
उहाँले नेपालको विकासमा चीन सरकार सदैव सकारात्मक रहेको उल्लेख गर्दै चिनियाँ लगानीबाट नेपालमा केही ठूला परियोजना सम्पन्न भएको स्मरण गराउनुभयो ।
पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपाल र चीनबीच घनिष्ट र अनुकरणीय सम्वन्ध रहेको बताउनुभयो । उहांले भारतसंगमात्र होईन चीनसंगपनि रोटी बेटीको सम्वन्ध रहेको बताउनुभयो ।
अर्का पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेले नेपाल र चीनबीचको सम्बन्ध अनुपम रहेको नेपालले ओवीओआरबाट फाइदा लिन सक्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्की तथा सोसाइटीका अध्यक्ष ध्रव पौडेलले भारत र चीनसँगको सम्पर्क सदैव सन्तुलित र व्यावहारिक हुनुपर्ने बताउनुभयो । नेपाल र चीनबीच सन् १९५५ अगष्ट १मा मा दौत्य सम्बन्ध कायम भएको थियो ।