मेला भर्न आएका बोलबम यात्रुको मृत्यु

0
Shares

 

गौशाला, १६ साउन । महोत्तरी जिल्लाको टुटेश्वरनाथ महादेवमा आज लागेको सोमबारे मेला भर्न आएका सर्लाहीका एक बोलबम यात्रुको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको सकरोल–२ बस्ने १७ वर्षीय सचिन ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका–५ टुटेश्वर चोकमा राजमार्गबाट सर्लाहीतर्फ जाँदै गरेको ना६ख ३७१२ नंको ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक शालीग्राम शर्मासहितको प्रहरी टोली पुगेर मुचुल्का उठाउने कार्य भइरहेको तथा ठक्कर दिने ट्रक र चालक प्रहरी चौकी फुल्जोरको नियन्त्रणमा रहेको जिप्रका महोत्तरीले जनाएको छ । रासस