अप्रेसन मनकामना शुरू

0
Shares

 

इन्द्र गिरी, संखुवासभा
संखुवासभामा अपराध न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयद्वारा सामाजिक अपराध र गुण्डागर्दीविरुद्ध अप्रेसन मनकामना शुक्रबारबाट शुरू गरेको छ। जिल्लाको प्रमुख धार्मिक स्थलको नाम दिई शुरू गरिएको अप्रेसन मनकामना जिल्लाका ३६ वटै प्रहरी एकाइबाट सञ्चालन हुने बताइएको छ।

अप्रेसन संखुवासभामा शुरूमा ३ महिनाको कार्ययोजना बनाई शुरू गरिएको र एक वर्षसम्म चल्ने यो अप्रेसनमा शान्ति सुरक्षा, अपराध अनुसन्धान र सुशासनका गतिविधिलाई जनमुखी, प्रभावकारी र प्रविधिमैत्री बनाउँदै अगाडि बढाउने योजना रहेको प्रहरी नायब उपरीक्षक सन्तोष खड्काले बताउनुभयो।

उहाँले अप्रेसन मनकामनामा योजनाबद्ध ढंगबाट प्रहरी परिचालन गरी सामाजिक अपराध वेश्यावृत्ति, अवैध मदिरा, जुवातास नियन्त्रण, गुण्डागर्दीलाई पूर्णरूपमा निर्मूलीकरण र अपराध न्यूनीकरणका लागि प्रचारप्रसार, जनचेतनामूलक कार्यक्रम सञ्चालनसमेत गर्ने पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो।

उहाँले यस अप्रेसनमा समेट्न खोजेको कुरा ठूलो क्षेत्र भए पनि जिल्लाको सीमा क्षेत्रभित्र शान्ति सुरक्षा, सुशासन कायम गर्न र सफल अनुसन्धान स्वतस्फूर्त रूपमा नागरिकलाई सक्रिय सहभागिता अभिप्रेरित गरी नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने बताउनुभयो।

विकास निर्माण तथा ठेक्कापट्टाका काममा अवरोध गर्ने र राजनीतिक आडमा हुने प्रतिशोधपूर्ण हुलहुज्जत र धम्कीपूर्ण व्यवहार गर्नेलाई कारबाही गर्ने, लागूऔषधको उत्पादन, ओसारपसार, बिक्रीवितरण वन पैदावार र वन्यजन्तुसँग सम्बन्धित अवैध गतिविधि, चोरी निकासी पैठारी, अवैध हातहतियार र कालाबजारीविरुद्धको अभियानमा प्राथमिकता दिने प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो।
अप्रेसन मनकामनाको एक वर्ष अवधिमा प्रहरीले घरेलु तथा महिला हिंसा, लागूऔषधविरुद्धको जनचेतनाका कार्यक्रमलगायत पर्चा, पोस्टर र पम्प्लेटसमेत वितरण गर्ने जनाएको छ। जिल्लामा अपराध न्यूनीकरण र शान्ति सुरक्षाका राजनैतिक दल, नागरिक समाजलगायत सबै क्षेत्रबाट प्रहरीलाई सहयोग गर्न आग्रहसमेत गरिएको छ।