एकै परिवारका ४ द्वारा आत्महत्या



 

नेपाल समाचारपत्र
काभ्रे
काभ्रेको बनेपामा एकै परिवारका चार जनाले विष सेवन गरी आत्महत्या गरेका छन्।

बनेपा बसपार्कमा गौतम भोजनालय चलाउँदै गरेका ६५ वर्षीय हरिभक्त दाहाल, उनकी पत्नी ६० वर्षीय हरिमाया दाहाल, उनको छोरा ३२ वर्षीय राजाराम दाहाल तथा उनकी २५ वर्षीया छोरी रञ्जना दाहालले विषय सेवन गरी आत्महत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख शहकुलबहादुर थापाले दिएको जानकारीअनुसार मृतकहरू विगत ६⁄७ वर्षदेखि बनेपाको बसपार्कमा उक्त होटल चलाउँदै आइरहेका थिए। उनीहरू बनेपा नगरपालिका वडा नम्बर १ नालाका स्थायी बासिन्दा रहेको बुझिएको छ।

प्राप्त स्रोतका अनुसार मृतक राजाराम दाहालले शुक्रबार दिउँसोदेखि नै अनौठो किसिमको व्यवहार देखाएको र ग्राहकसँग पनि झर्किने गरेका थिए।
इलाका प्रहरी कार्यालय स्रोतले दिएको जानकारीअनुसार मृतकहरूको साथमा सेल्फल ३ थान भेटिएको छ। प्रत्यक्षदर्शीले बताएअनुसार उनीहरूको पसल बेलुका साढे ६ बजेसम्म खुला थियो। राति करिब ९ बजेतिर पसलबाट गन्ध आएपछि सटर खोली हेर्दा मृतकहरूको लाश भेटिएको थियो।

स्थानीयका अनुसार रञ्जनाको विवाहको कुरा चलिरहेको र उनले विवाह गर्न नमान्दा जबरजस्ती विवाह गर्न खोजेकाले रञ्जनाले विष सेवन गरेको र अरूलाई पनि विष सेवन गराएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। प्रहरीले लाशको मुचुल्का उठाई पोस्टमार्टमका लागि शिर मेमोरियल अस्पताल लगेको काभ्रे प्रहरी प्रमुख शहकुलबहादुर थापाले बताउनुभयो। यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्