टेलिसेन्टरका कर्मचारी विनाकाम तलब खाँदै

0
Shares

 

सरिता चलाउने, सल्यान
सल्यानमा जिल्ला हुलाक कार्यालयले सञ्चालन गरेका टेलिसेन्टर बन्द हुने अवस्थामा पुगेका छन्। ग्रामीण क्षेत्रका बासिन्दालाई आधुनिक सञ्चार सुविधा दिन लाखौं रुपियाँ खर्च गरेर खरिद गरेका टेलिसेन्टरका उपकरणहरू प्रयोगमा नआई बिगँ्रदै गएका छन्। कतिपय स्थानका टेलिसेन्टर दक्ष प्राविधिक र उपकरण अभावमा प्रयोगविहीन बन्दै गएका छन्।

ग्रामीण क्षेत्रमा सूचनाको पहुँच विस्तार गर्न, कम्प्युटर सिकाउन, फोटोकपी, लेमिनेसन, स्क्यानिङ, फ्याक्स गर्नका लागि बजार मूल्यभन्दा कम शुल्क लिएर सेवा उपलब्ध गराउन टेलिसेन्टरको स्थापना गरिए पनि मेसिन बिग्रिनु, प्राविधिक समस्या, नियमित विद्युतको अभावजस्ता कारणले कतीपय टेलिसेन्टर प्रयोगविहीन अवस्थामा जस्तै रहेको जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारीले जनाए।

उनका अनुसार जिल्लामा ५ स्थानमा टेलिसेन्टर छन्। थारमारे, मालनेटा, जैतपानी, लुहाम र कपुरकोट गरी ५ स्थानमा टेलिसेन्टर स्थापना गरिएको भएपनि धेरैजसो प्रयोगमा नआएको पाइएको छ।

पछिल्लो समय फोटोकपि, फ्याक्स, लेमिनेशन, इमेल इन्टरनेट जस्ता सेवा निजी क्षेत्रबाटै दिन थालेकाले पनि सेवाग्राहीहरू टेलिसेन्टरसम्म नआउने गरेको हुलाक अधिकृत भण्डारीले बताए।

उनले भने– ‘हुलाकले सञ्चालन गरेका टेलिसेन्टर दिउँसो मात्र सञ्चालनमा आउने हुँदा पनि सर्वसाधारणको आकर्षण हुन सकेको छैन। कतिपय स्थानमा टेलिसेन्टर भन्दा निजी पहलमा खोलिएका सञ्चार सेवा प्रभावकारी भएपछि पनि हाम्रा टेलिसेन्टर प्रयोगविहीन बन्न थालेका हुन्।’

निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी नीति–निर्माण र कार्यान्वयन गर्न नसक्दा हुलाक सेवा अहिले प्रयोगविहीन बन्दै गएको हो।

नयाँ प्रविधिसहित थप सुविधा विस्तार गर्न नसक्दा हुलाक सेवा तथा टेलिसेन्टर पनि प्रयोगमा आउने अवस्था छैन। टेलिसेन्टरमा काम गर्ने कर्मचारीहरूले पनि त्यत्तिकै तलब पचाइरहेका छन् भने लाखौँ मूल्यका उपकरणहरू बिगँ्रदै गएका छन्। तर, राज्यले भने त्यसलाई कसरी प्रभावकारी बनाउने भनेर खासै चासो देखाएको पाइँदैन।

सरकारले चासो देखाएर स्तारोन्नति गरे सहुलियत दरमा सेवा लिन सकिने अवस्था रहे पनि सरोकारवाला निकायको मौनताले टेलिसेन्टरहरूले स्थानीयलाई सेवा दिन सकेका छैनन्।

स्थलगत अध्ययन नै नगरी इन्टरनेट सेवा नभएका स्थानमा पनि टेलिसेन्टर खोल्नु, समुदायलाई प्रयोगका लागि आकर्षण गर्न नसक्नु जस्ता कमजोरी रहेको जानकारहरू बताउँछन्।।