जग्गेबाटै विवाहको दक्षिणा सामाजिक सेवामा


 

नेपाल समाचारपत्र
हेटौंडा
हेटौंडाकी एक नवविवाहित दुलहीले आफ्नो विवाहमा प्राप्त दक्षिणा सामाजिक सेवामा लगाएकी छन्। सामाजिक बेथितिको विरोध र सकारात्मक परिवर्तनका लागि कलम चलाउँदै आएका हेटौंडा–८, कमानेका लेखक पिता जनकमान डंगोल र माता मीनादेवी डंगोलकी पुत्री २३ वर्षीया एलिना डंगोलले आफ्नो विवाहमा दक्षिणा प्राप्त १० हजार रुपियाँ सामाजिक कार्यका लागि प्रदान गरेकी हुन्।

विवाहमा प्राप्त दक्षिणा मकवानपुरमा सामाजिक कार्यमा अग्रसर मकवानपुर जागरण मञ्चलाई प्रदान गर्दै उनले संस्थालाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन्। अभियान अध्यक्ष कृष्णराज कोइरालासहित टोलीलाई उनले जग्गेबाटै रकम हस्तान्तरण गरेकी हुन्।

एलिनाले आफ्नै विवाह समारोहमा अभियानलाई सहयोग गर्दै युवालाई सामाजिक कार्यमा लाग्न झक्झकाउने काम गरेको अध्यक्ष कोइरालाले बताए। युवाहरू सबै जिम्मेवारीभन्दा पर रहन्छन् र सबै अपरिपक्व हुन्छन् भन्ने मान्यतालाई उनले गलत सावित गरिदिएकी अध्यक्ष कोइरालाले बताए।

आजकालका युवाहरू उरन्ठेउला हुन्छन्, अपरिपक्व र दायित्वबोध नगर्ने हुन्छन् भन्ने भनाइलाई गलत सावित गर्दै एलिनाले विवाहमा प्राप्त दक्षिणा सामाजिक सेवामा लगाएकी छिन्।

एलिनाको सहयोगबाट मातापिता खुसी देखिएका छन्। किरणमान डंगोल र ज्ञानी डंगोलकी नातिनी एलिनाको विवाह कीर्तिपुर निवासी देवरत्न महर्जनसँग भएको हो।