फेरि पेट्रोलियम पदार्थको मूल्य घट्यो



 

काठमाडौं, (नेस)
पेट्रालियम पदार्थ तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ। नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपियाँ घटाएको हो।

मूल्य घटेपछि प्रतिलिटर १ सय रुपियाँ पर्ने पेट्रोल अब ९८ रूपैयाँमै पाइने छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ७६ रुपियाँ पर्ने गरेकोमा अब ७४ रुपियाँमा नै पाइने भएको छ।

बजारमा खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २५ रुपियाँले घटेको छ। अब उपभोक्ताले १ सिलिन्डर ग्यासको खरिद गर्न १ हजार ३ सय ५० रुपियाँ मात्र तिरे पुग्छ। आइतबार राति १२ बजेदेखि लागू भएको नयाँ मूल्य अनुसार आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपियाँले घटेर ८२ रुपियाँमा झरेको छ।

निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गर्दा पनि निगमलाई मासिक ४० करोड रुपियाँ नाफा हुने निगमस्रोतले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएपछि नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको भारतीय आयल निगमले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको थियो। भारतीय आयल निगमले नेपाल आयल निगमलाई प्रत्येक महिनाको १ तारिख र १५ तारिखमा नयाँ मूल्य पठाउने गर्छ। त्यसकै आधारमा निगमले मूल्य समायोजन गरेको हो। यसअघि असार २ गते पनि आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो।

मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ७ रुपियाँ ३० पैसा, डिजेलमा प्रतिलिटर १ रुपियाँ ५० पैसा, मट्टितेलमा १८ रुपियाँ र हवाई इन्धनमा १० रुपियाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर ३९ रुपियाँ नाफा हुने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्