पुनः मतदान गराउन एमालेको माग


 

काठमाडौं, (नेस)
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचनका क्रममा सत्तारुढ पार्टीद्वारा गरिएको सत्ताको दुरुपयोगप्रति आपत्ति जनाएको छ। अछाम, बझाङ, डोटी, डडेल्धुरा, कैलालीलगायतका जिल्लामा राज्यसत्ताको दुरुपयोगबाट जनमतलाई प्रभावित पार्ने कोशिस गरिएको भन्दै आपत्ति जनाएको हो।

नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तीमा अछामको साँफेबगर नगरपालिका–७ स्थित सरस्वती मावि मतदान केन्द्रमा हुलहुज्जत गरी मतदान केन्द्र कब्जा गरिएको बताइएको छ।अछामको मेल्लेख, पञ्चदेवल नगरपालिकाको विनायक, बझाङको चैनपुर, कैलालीको बद्रगारियालगायतका ठाउँमा सत्ताको आडमा व्यापक धाँधली गरिएको बताउँदै विज्ञप्तीमा पहिलो चरणको निर्वाचनमा यस्तै धाँधली भएकोमा संसद्बाट संसदीय छानबिन समिति बनिसकेको अवस्थामा पुनः यस्ता गतिविधि दोहोर्याइनुले चिन्तित बनाएको बताउनुभयो। यस्ता घटनाको भत्र्सना गर्दै एमालेलेसत्ता–संरक्षित धाँधली भएका मतदान केन्द्रहरूमा पुनः मतदान गराउन माग गरेको छ।

दोस्रो चरणको निर्वाचनमा उत्साहका साथ भाग लिने राजनीतिक दलहरू, उम्मेदवारहरू, राजनीतिक कार्यकर्ताहरू र मतदाता, निर्वाचनका आधारभूत मूल्य र मान्यतामा बसेर निर्वाचन सम्पन्न गराउन जिम्मेवारी निर्वाह गर्ने निजामती कर्मचारी, सुरक्षाकर्मी र पर्यवेक्षकहरूरुलाई समेत एमालेले धन्यवाद दिएको छ।

प्रचार विभाग प्रमुख भट्टराईले नर्वाचनको सफलताले संविधानसभाबाट जनताका प्रतिनिधिहरूले निर्माण गरेको संविधान कार्यान्वयनमा ठोस योगदान पुगेको बताउनुभएको छ। सत्तारुढ गठबन्धनले प्रदेश नम्बर दुईका जनतालाई यस प्रक्रियाबाट अलग गर्ने जुन हर्कत गरेको छ, यसबाट उनीहरूको लोकतान्त्रिक अधिकार मात्र खोसिएको छैन, संविधान कार्यान्वयन र लोकतान्त्रिक प्रक्रियामा नै गम्भीर आघात पुर्याएको छ, विज्ञप्तीमा भनिएको छ।