ठाउँठाउँमा बम डिस्पोज


 

काठमाडौं, (नेस)
देशका विभिन्न स्थानमा शंकास्पद रूपमा फेला परेका बिष्फोटक पदार्थ प्रहरीको सक्रियतामा निष्क्रिय पारिएको छ। ती स्थानहरूमा बिष्फोटक पदार्थ फेला परेको छ भन्ने सूचना प्राप्त हुनासाथ तत्काल घटनास्थलमा खटिएको स्थानीय प्रहरीको समन्वयमा नेपाली सेनाको स्थानीय युनिटको टोलीले मंगलबार र बुधबार बिष्फोटक पदार्थ निष्क्रिय बनाएको हो।

बिष्फोटक पदार्थ फेला पारी निष्क्रिय पारिएका ठाउँहरूमा कञ्चनपुर बेलौरी नगरपालिका–३ बुट्टाबारी, कञ्चनपुर भिमदत्त नगरपालिका–८ स्थित तिलापुर इँटाभट्टा नजिक, कञ्चनपुर महाकाली नगरपालिका–४ चाँदनी बजार, अछाम तुर्माखाँद गाउँपालिका–८ सुनारा टाकुरा र अछाम ढकारी गाउँपालिका–१ गुरुकुल मावि रहेका छन्।
साथै बर्दिया गुलरिया नगरपालिका–१ र मधुवन नगरपालिका–९ स्थित सडक, बाँके कोहलपुर नगरपालिका–११ चौराहास्थित सडक, खोटाङ लामीडाँडा गाउँपालिका–५ स्थित गंगोदय मावि, खोटाङ रुपाकोट मझुवागढी नगरपालिका–७ स्थित विद्योदय उच्च मावि, मोरङ कानेपोखरी गाउँपालिका–६ स्थित रमाइलो बजार चोक, बाजुरा हिमाली गाउँपालिका–५ स्थित मंगलमय प्रावि नन्दापाटा र कञ्चनपुर पुनर्वास नगरपालिका–३ रामबस्तीमा बुधबार फेला परेका शंकास्पद बस्तु डिस्पोजका लागि समन्वय तथा आवश्यक पहल भएको छ।

बिष्फोटक पदार्थ राख्ने व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।