माओवादीको चेतावनी


 

हेटौंडा, (नेस)
पक्राउ गरिएका आफ्ना ३ नेतालाई तत्काल रिहा नगरे नेकपा माओवादीले २ दिन मकवानपुर बन्दको चेतावनी दिएको छ।

बुधबारका लागि घोषित स्थानीय तह दोस्रो चरणको निर्वाचन बिथोल्न सक्ने आशंकामा नेकपा विप्लवका मकवानपुर जिल्ला इञ्चार्ज ज्वाला, सचिवालय सदस्यद्वय मजदुर नेता सोम घलान र दिलीप स्यांतान मंगलबार पक्राउ परेका थिए। मकवानपुर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई रिहा नगरे असार १६ र १७ गते मकवानपुर बन्द गरिने पार्टी नारायणी ब्युरो इञ्चार्ज चिरण पुनले विज्ञप्ति प्रकाशन गरी चेतावनी दिएका हुन्। पार्टीले जिल्लाभर प्रचारप्रसार तथा जिल्लाव्यापी जनकारबाहीलाई तीव्रता दिइने बताएको छ। उनीहरूलाई रिहा नगरे विरोधका योभन्दा सशक्त कार्यक्रम ल्याइने पार्टीले जनाएको छ।

स्थानीय तह निर्वाचन खारेज अभियान चलाइरहेको नेकपालाई सरकारले उच्च निगरानी गरिरहेको छ। निर्वाचनका बेला मकवानपुरमा भएको विभिन्न घटनालाई जोडेर उनीहरूलाई पक्राउ गरिएको प्रहरीस्रोतले बताएको छ।

पार्टीको नारायणी ब्युरो इञ्चार्ज पुनले विज्ञप्ति प्रकाशन गरी उनीहरूलाई बिनाशर्ता अविलम्ब रिहा नगरे यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवार वर्तमान सत्ता नै हुने दाबी गरेका छन्।

नेकपाका जिल्ला सेक्रेटरी राम घलानले बिनाकारण नेता⁄कार्यकर्ता प्रहरीले समातेर ‘राम्रो काम नगरेको’ प्रतिक्रिया दिएका छन्। उनले तुरन्त रिहा गर्न आग्रह गरेका छन्। चुनाव विरोध कार्यक्रममा संलग्न रहेको आरोपमा प्रहरीले देशैभर नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका करिब २ सय कार्यकर्तालाई पक्राउ गरेको थियो।