रंगेहात पक्राउ पर्नेमा नासु धेरैः अख्तियार


 

काठमाडौं, (नेस)
अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गर्नेलाई पक्राउ गर्न सञ्चालित विशेष कारबाही ‘रंगेहात पक्राउ’ अन्तर्गत पक्राउ पर्नेमा धेरैजसो नासु रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

आयोगले सोमबार आयोगकै सभाहलमा गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका एसपी हृदय थापाले चालू आवको जेठ २८ सम्म ७६ जना पक्राउ परेको मध्येमा ३४ जना नासु घूस लिँदालिँदै रंगेहात पक्राउ परेको जानकारी दिनुभयो।

आयोगको यस कारबाहीमा नासुपछि शाखा अधिकृत १५ जना, ओभरसियर⁄अमिन⁄खरिदार ९ जना, लेखापढी व्यवसायी⁄अन्य ७ जना, उपसचिव ५ जना, विद्यालय व्यवस्थापन अध्यक्ष १ जनालगायत छन्।

काठमाडौं उपत्यकाभित्र २४, बाँकेमा ५ लगायत देशभर गरी ५७ सरकारी कार्यालयका राष्ट्रसेवक कर्मचारीहरूलाई घूस लिँदालिँदै आयोगले रंगेहात पक्राउ गरेको हो।

अघिल्लो वर्षको तुलनामा यो वर्ष काठमाडौंलगायत देशभरका विभिन्न तहका सरकारी कर्मचारीहरू रंगेहात कारबाहीमा परेको दरमा वृद्धि भएको अख्तियारको तथ्याकंमा उल्लेख छ।

अघिल्लो वर्ष काठमाडौं उपत्यकामा १७ सरकारी कार्यालयका कर्मचारी रंगेहात पक्राउमा परे भने यो वर्ष २४ कार्यालयका कर्मचारी सो कारबाहीमा
परेका छन्।

त्यस्तै गरी, आयोगले अघिल्लो वर्ष देशभर ४४ कार्यालयका कर्मचारी रंगेहात कारबाहीमा परे भने यो वर्ष ५७ कार्यालयका कर्मचारी यो कारबाहीमा परेका छन्।

भूकम्पपछि पीडितबाटसमेत घूस लिने गरेको पाइएको एसपी थापाले बताउनुभयो। सरुवा भएपश्चात्, काममा आलटाल गर्ने प्रवित्ति देखाउने, जेष्ठ नागरिकलाईसमेत हैरानी दिने गरेको आयोगसँग उजुरी आएको उहाँले बताउनुभयो।