पाण्डे र थापालाई राष्ट्रिय प्रतिभा पुरस्कार


 

नेपाल समाचारपत्र
काठमाडौं
अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले विनाशकारी भूकम्पका समयमा साहसपूर्ण काम गरेबापत दुई पत्रकारलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरेको छ।
उपराष्ट्रपति कार्यालयमा सोमबार आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले भूकम्पका बेलामा घाइते भएका र उद्धारमा खटिएका व्यक्तिलाई समेटेर बनाइएको चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरू’का निर्देशक गणेश पाण्डे र फोटो पत्रकार अमुल थापालाई सम्मान गर्नुभयो। नेपालको भूकम्पको व्यथालाई संसारभर पुर्याउन सफल पाण्डे र जोखिम मोलेर भक्तपुरका बालक सोनिस अवालको तस्वीर लिने फोटोग्राफर थापालाई सम्मान गर्न पाउँदा खुसी लागेको उपराष्ट्रपति पुनले बताउनुभयो। उहाँले भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भइरहेकाले सरकारले चाँडोभन्दा चाँडो यसलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

भूकम्पमा परी ज्यान गुमाएका बाँकेका सफल व्यवसायी एवं दैनिक नेपालगन्जका सञ्चालक अच्युतराज सुवेदीको स्मृतिमा पुरस्कार स्थापना गरिएको हो। भूकम्पमा घाइते भएका सुवेदीको उपचारका क्रममा भारतको नयाँदिल्लीमा दुई वर्षअघि निधन भएको थियो।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले भूकम्पले सिकाएको पाठ अझै सिक्न नसकिएको बताउनुभयो। प्रतिष्ठानका अध्यक्ष तथा स्व. अच्युतका पिता प्रकाश सुवेदीले भूकम्पका समयमा विभिन्न माध्यमबाट उद्धार र सहयोगमा खटिने सबैलाई धन्यवाद दिनुभयो।

गत वर्ष स्थापित प्रतिष्ठानले विभिन्न क्षेत्रमा राम्रो काम गर्ने युवालाई प्रोत्साहनस्वरुप सम्मान गर्ने लक्ष्य राखेको प्रतिष्ठानका संरक्षक पूर्वउपसभामुख तथा स्व. सुवेदीकी आमा पूर्णकुमारी सुवेदीले बताउनुभयो।

सञ्चारकर्मी अच्युतराजले केही दैनिक पत्रिकामा व्यवस्थापकीय जिम्मेवारी निर्वाह गर्नुभएको थियो। आगामी वर्षमा पनि यसै गरी उत्कृष्ट कार्य गर्ने सञ्चारकर्मी र समाजसेवीलाई सम्मान गर्ने प्रतिष्ठानका सचिव झलक गैरेले बताउनुभयो।