समृद्धिका लागि कांग्रेसः खाँण


 

नेपाल समाचारपत्र
बुटवल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले देशको विकास, समृद्धि, र शान्तिका लागि स्थनीय तहको दोस्रो निर्वाचनमा जनताले कांग्रेसलाइ जिताएर फेरी पनि पहिलो पार्टी बनाउने बताउनुभएको छ।

यसअघिका धेरै वटा निर्वाचनमा प्रतिकूलताका बावजुद जनताले कांग्रेसलाई जिताएकाले असार १४ को निर्वाचनमा कांग्रेसको सहज जित सुनिश्चित भएको दाबी गर्नुभयो।

नेपाली कांग्रेस तिलोत्तमा नगरले सोमवार मणिग्राममा गरेको उम्मेदवार घोषणा सभालाई सम्बोधन गर्दै निर्वतमान रक्षामन्त्रीसमेत रहेका खाँणले बहुदलमा विश्वास गर्ने कांग्रेसले देशको समृद्धिकै लागि स्थानीय चुनावमा अन्य दलसँग सहकार्य गरेको उल्लेख गर्नुभयो।

‘कांग्रेस कामजोर भएर होइन स्थायी शान्ति र समृद्धिका लागि हातेमालो गरेर अगाडि बढनुपर्ने राष्ट्रिय आवश्यकतालाई मनन गरेर तालमेल गरेका हौं’, नेता खाँणले भन्नुभयो– ‘अन्य स्थानमा अन्य दलसँग तालमेलको प्रयास भइरहेको छ।’
बहुदलमा विश्वास गर्ने पार्टी भएकाले विकासका एजेन्डामा हातेमालो गर्न तिलोत्तमामा जनमुक्तिसँग तालमेल गरिएको र जित सुनिश्चित रहेको दाबी गर्नुभयो।

तिलोत्तमाका स्थायी बासिन्दासमेत रहेका खाँणले नगरलाई हरियाली, सभ्य, विकसित र समृद्ध नगर बनाउने परिकल्पना साकार पार्न कांग्रेस जनमुक्ति गठबन्धनलाई अमूल्य मत दिएर जिताउन नगरबासीलाई आग्रह गर्नुभयो।
मतदातालाई मत दिन सहज होस् भनेर चुनाव चिह्न रुख मात्रै प्रयोग गर्ने विषयमा आयोगसँग माग गरिएको जानकारी दिनुभयो।

नेता खाँणले नगरलाई पर्यटकीय विश्रामस्थलको रूपमा विकास गर्ने, ५ वर्षमा देशकै ठूलो र चौडा ४७ किलोमिटरको चक्रपथ निर्माण जस्ता योजना पूरा गर्दै लुम्बिनीसँग जोडेर हरियाली, सभ्य र समृद्ध नगर बनाउने बताउनुभयो।

कार्यक्रममा बोल्दै अर्का केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले संविधान कार्यान्वयन, समृद्ध र सक्षम नेपाल अवको कार्यदिशा भएकाले स्थानीय तहमा कांग्रेसको नेतृत्व अनिवार्य रहेको बताउनुभयो।

राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष टोप अस्लामीले सबैखाले विभेदको अन्त्य गर्दै भ्रष्टाचारमुक्त समाज र विकासका लागि कांग्रेस जनमुक्तिको गठबन्धनलाई जिताउन नगरबासीलाई आग्रह गर्नुभयो। नेपाली कांग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाकले रूपन्देहीका स्थानीय तहमा कांग्रेसका उम्मेदवारको जित सुनिश्चित भएकाले असार १४ पछि सोही ठाँउमा विजयी घोषणा सभा गर्ने दाबी गर्नुभयो।

कार्यक्रममा जनमुक्ति रूपन्देहीका अध्यक्ष झमबहादुर गुरुङ, तिलोत्तमा चुनाव परिचालन समितिका संयोजक रामचन्द्र ढकाल, बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष रोमणीप्रसाद पाठक, नगर सभापति हरिलाल पाण्डे, सचिव शिव गैरेलगायतले बोल्दै तिलोत्तमाले जुझारु, विकास प्रेमी, योग्य र सक्षम नेतृत्व पाएकाले सबै एक भएर आफ्ना उम्मेदवारलाई जिताउन लागिपरेको धारणा राख्नुभएको थियो।

कार्यक्रममा नगरका मेयर र उपमेयरका उम्मेदवार रामकृष्ण खाँण र गीता सारूले समावेशी विकास, जहा मानवबस्ती त्यहाँ कालापत्रे सडक, एक वाड एक स्वास्थ्य चौकी, सुकुम्बासीलाई लालपुर्जा, स्वरोजगार युक्त, हरियाली, स्वच्छ र नेपालकै नमुना नगर बनाउने प्रतिबद्धतासहित आफ्नो टिमलाई मतदान गर्न आग्रह गर्नुभएको थियो।