२ लाख सुरक्षाकर्मी मैदानमा



नावमा ७३ हजार म्यादी प्रहरी, ५० हजार नेपाल प्रहरी, २९ हजार सशस्त्र प्रहरी बल र ४५ हजार नेपाली सेना खटाइँदै।

दीपक रिजाल, काठमाडौं
आगामी असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको सरकारले दाबी गरेको छ।

पहिलो चरणको निर्वाचनमा केही छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि अब हुने निर्वाचन भने सोचेजस्तो नहुने भएकाले सरकारले देशभरका सुरक्षा निकायलाई दोस्रो चरणको निर्वाचन हुने क्षेत्रमा खटाउने तयारी गरेको छ।
सरकारले दोस्रो चरणको निर्वाचनलाई भयरहित बनाउन मतदान केन्द्रलाई तीन भागमा विभाजन गरी सुरक्षाकर्मी परिचालन हुने गृहमन्त्री जनार्दन शर्माले नेपाल समाचारपत्रलाई जानकारी दिनुभएको छ।

उहाँका अनुसार अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा सुरक्षा निकाय परिचालन गर्ने तयारी गरिएको छ। यसपटक प्रदेश नम्बर १, प्रदेश नम्बर २, प्रदेश नम्बर ५ र प्रदेश नम्बर ७ मा निर्वाचन हुँदै छ।

सरकारले प्रदेश नम्बर २ का सबै मतदान केन्द्रलाई अति संवेदनशील क्षेत्र मानेर त्यहाँ सुरक्षा फौजलाई उल्लेख्य मात्रामा परिचालन गर्ने भएको छ भने अन्य प्रदेशमा पर्ने तराईका जिल्ला र पहाडका रोल्पा, दाङको पहाडी भेग सुदूरपश्चिमका केही निर्वाचन क्षेत्रलाई अति संवेदनशील क्षेत्र मानेर सुरक्षा फौज परिचालन गर्न लागेको छ।

यसपटकको निर्वाचनमा ७३ हजार म्यादी प्रहरी, ५० हजार नेपाल प्रहरी, २९ हजार सशस्त्र प्रहरी बल र नेपाली सेना ४५ हजारको हाराहारीमा परिचालन हुने जनाइएको छ। सबै सुरक्षा निकाय गरेर कुल १ लाख ९७ हजार सुरक्षाकर्मी खटाइने भएका छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले निर्वाचन सुरक्षाका लागि अपनाउनुपर्ने सबै उपाय अवलम्बन गरेको जानकारी दिनुभयो।

दोस्रो चरणको निर्वाचनमा समेत राष्ट्रिय जनता पार्टीले निर्वाचनमा भाग नलिने भन्दै आन्दोलनमा होमिएपछि सुरक्षा व्यवस्थालाई अझै मजबुत बनाउने रणनीतिमा सरकार पुगेको छ।

सरकारले आन्दोलनरत मधेसी मोर्चालाई चुनावमा सहभागी गराउने रणनीति अपनाए पनि मोर्चा भने अहिलेको अवस्थामा चुनावमा सहभागी नहुने र चुनाव भाँड्ने रणनीतिमा लागेपछि सरकारले अति संवेदनशील क्षेत्र घोषणा गरिएको मतदान केन्द्रमा सबै सुरक्षा निकायका झन्डै ५० जनाभन्दा बढी खटिने भएका छन्।

यसपटक निर्वाचनलाई लक्षित गरेर कसैले अवरोध गरे वा मतदातालाई मतदानमा सहभागी हुनबाट रोक्न खोजे सुरक्षा निकायलाई गोली हान्ने अधिकारसमेत सरकारले प्रदान गरेको छ।

सरकारले निर्वाचनका लागि खटिन सेनालाई यसअघि नै आदेश दिएकाले सेना अब निर्वाचन क्षेत्र तथा मतदान केन्द्रमा समेत खटिन सक्ने एक उच्च सरकारी अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए।

नेपाली सेना र सशस्त्र प्रहरी बललाई यसपटक हाई अलर्टमा रहन सरकारले निर्देशन दिएको छ। सेनाले अति संवेदनशील क्षेत्रमा सेनालाई गस्ती बढाउन निर्देशन दिइसकेको छ भने थप फौजका लागि निर्वाचन भइसकेका जिल्लाबाट जनशक्ति मगाउन थालेको छ।

सशस्त्र प्रहरी बलले पनि उपत्यकालगायत निर्वाचन सम्पन्न भइसकेका जिल्लामा तैनाथ फौजलाई निर्वाचन हुने जिल्लामा लैजान शुरू गरेको छ।

यस पटकको निर्वाचनमा सुरक्षा अवस्था जटिल हुने देखिएपछि गृहमन्त्री शर्माले सोमबार सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिनुभएको छ। उहाँले निर्वाचन जसरी पनि सम्पन्न गर्नुपर्ने भएकाले सुरक्षा व्यवस्था कायम गर्न कुनै कसर बाँकी नराख्नसमेत निर्देशन दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्