निष्पक्ष चुनाव नै एमालेलाई सहयोगः ओली


 

घोराही, दाङ, (नेस)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निष्पक्ष चुनाव गराएर एमालेलाई सहयोग गर्न सम्पूर्ण जनसमुदायलाई आग्रह गर्नुभएको छ।

पहिलो चरणको निर्वाचनमा विभिन्न स्थानका, बुथ कब्जा, मतपत्र च्यात्ने, खोस्नेलगायतका अलोकतान्त्रिक कार्य भएको भन्दै नेता वलीले निष्पक्ष निर्वाचन नै एमालेको जित भएको बताउनुभयो। दाङको तुलसीपुरमा आइतबार आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै नेता ओलीले लामो समयपछि हुन लागेको निर्वाचनलाई निष्पक्ष बनाउनु राष्ट्र र लोकतन्त्रलाई सम्मान गर्नेहरूको कर्तव्य भएको धारणा थियो।

आफूले उठाउँदै आएको राष्ट्रवादको कुरा गर्दै ओलीले एमाले कसैको पक्षमा नभएर देशका पक्षमा उभिएको सशक्त पार्टी भएको बताउनुभयो।

एमाले देशको पक्षमा उभिएको हुँदा जनताहरू पनि एमालेको पक्षमा रहेको उहाँले दाबी गर्नुभयो। अहिले देश एमालेमय भएको उहाँको भनाइ थियो। देशले अनेकता होइन एकता चाहेको छ। अध्यक्ष ओलीले भन्नुभयो– ‘अब हाम्रो विविधतायुक्त सानो देशले विभाजन होइन समायोजना चाहेको छ।’

उपाध्यक्ष युवराज ज्ञवालीले कांग्रेस माओवादीले एमालेको बारेमा कुप्रचार गर्दै हिँडेको आरोप लगाउनुभएको छ। उहाँले देशभर एमालेको लहर छाएको देखेर एमालेको बारेमा गलत हौवा फैलाएको आरोप लगाउनुभयो।

एमालेको राष्ट्रवादसमेत उनीहरूलाई पच्न नसकेको उहाँको भनाइ थियो। उहाँले नेपालमा अहिलेसम्म सबैभन्दा राष्ट्रवाद र देश विकासमा एमाले नै अगाडि रहेको हुँदा एमालेलाई नै भोट दिएर चुनावमा जिताउन आग्रह गर्नुभयो। एमालेले चुनाव जित्यो भने देशको अखण्डता जोगिने उहाँको भनाइ थियो।

स्थायी कमिटी सदस्य शंखर पोखरेलले नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले धेरैभन्दा धेरै महिला, जनजाति, दलित र पीछडिएका वर्गहरूलाई स्थान दिएको बताउनुभयो।

अन्य पाटीको तुलनामा एमालेले समावेशितामा ध्यान दिएको उहाँको दाबी थियो। पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले देशको समद्धि एमालेको नेतृत्वबाट मात्रै सम्भव भएको बताउनुभयो।