संसद्को अर्को बैठक असार १८ गते, चुनावमा सबैलाई समेट्न दलसम्बन्धी ऐन संशोधन पास


 

नेपाल समाचारपत्र
काठमाडौं
व्यवस्थापिका संसद्को आइतबारको बैठकले राजनीतिक दलसम्बन्धी ऐन (पहिलो संशोधन) विधेयक, २०७४ लाई बहुमतले पारित गरेको छ।

आइतबारको संसद् बैठकमा गृहमन्त्री जनार्दन शर्माले सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो।

विधेयकका बारेमा संसद्मा उठेको छलफलका बारेमा जवाफ दिँदै गृहमन्त्री शर्माले दोस्रो तहको स्थानीय तहको निर्वाचनको सबै तयारी पूरा भएको र निर्वाचनमा भाग लिन सबै राजनीतिक दलसँग आह्वानसमेत गर्नुभयो।

बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र सदनको बैठकमा पढेर सुनाउनुभएको थियो।

व्यवस्थापिका संसद्को अर्काे बैठक असार १८ गते दिनको १ बजे बस्ने जनाइएको छ।

यसअघि व्यवस्थापिका संसद्को आजको पहिलो बैठकमा गृहमन्त्री जनार्दन शर्माले राजनीतिक दलसम्बन्धी ऐन (पहिलो संशोधन), विधेयक, २०७४ लाई प्रस्तुत गर्नुभएको थियो।

यसै गरी बैठकले व्यवस्थापिका संसद्को नियमावली नियम २५९ बमोजिम सो नियमावलीको नियम ११४ को उपनियम (१), नियम ११९, नियम १२० र १२७ को उपनियम (१) लाई निलम्वन गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो।

नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठद्वारा प्रस्तुत सो नियम निलम्वनको प्रस्तावलाई सीता नेपालीले समर्थन गर्नुभएको थियो। वि.सं. २०७४ असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलको सहभागिता सुनिश्चितताका लागि सो नियम निलम्वन गरिएको प्रमुख सचेतक श्रेष्ठले जानकारी दिनुभयो।

यसै गरी बैठकले ‘राजनीतिक दलसम्बन्धी ऐन (पहिलो संशोधन) विधेयक, २०७४’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो।

सदनको दोस्रो बैठकमा गृहमन्त्री जनार्दन शर्माले सो विधेयमाथि विचार गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो।