बिन्दुमा सिन्धुको विमोचन


 

काठमाडौं, (नेस)
लघु कथाकार राजन पनेरूको पहिलो लघुकथा बिन्दुमा सिन्धुको राजधानीमा लोकार्पण भएको छ। लघुकथा समाजको आयोजनामा भएको उक्त समारोहमा लघुकथा विधामा पहिलो विद्यावारिधि गर्ने पुष्करराज भट्टले राजन पनेरूका लघुकथामा सामाजिक विविधता प्रस्तुत लघुकथा संग्रहमा मानवीय समवेदना उच्च रहेको बताउनुभयो।

साहित्यकार डा. रवीन्द्र समीरले राजन पनेरूका लघुकथामा व्यक्तिगत, पारिवारिक, सामाजिक तथा समाजका विविध क्षेत्रमा अन्तर्निहित विकृति, विसंगति र द्वैध चरित्रमाथि कुशल ढंगले प्रहार गरिएको बताउनुभयो। लघुकथा समाजका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ रोदनले बिन्दुमा सिन्धु निकै परिष्कृत लघुकथाहरूको संग्रह भएको बताउनुभयो। लेखक राजन पनेरूले आफ्ना दुई वटा रचना वाचन गर्दै आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो।
उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार मञ्जु काँचुली, डा. रामहरि ढकाल, दमनबहादुर सिंह, तुलसीहरि कोइरालालगायतले बोल्नुभएको थियो। ७४ वटा लघुकथा संग्रहित बिन्दुमा सिन्धु लघुकथा संग्रह कविडाँडा साहित्य समाज, चितवनले प्रकाशन गरेको हो।