निजी क्षेत्रको अपेक्षा ‘मैत्री प्रशासन’

0
Shares

धन बस्नेत, पोखरा

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले निजी क्षेत्रमैत्री प्रशासन सञ्चालन संघको अपेक्षा भएको स्पष्ट पारेका छन्। पोखरा उद्योग वाणिज्य संघ सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार जननिर्वाचित निकायसँग हातेमालो गर्न तयार रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो–‘कृषिको व्यावसायिकरण, निजी क्षेत्रमैत्री स्थानीय निकायसहितको स्मार्ट सिटीको लागि सघाउन निजी क्षेत्र तयार छ।’

पोखरा उद्योग वाणिज्य संघले कास्कीबाट निर्वाचित जनप्रतिनिधिको स्वागतसहित सम्मान गरेको कार्यक्रममा पोखरा उपमहानगरपालिकाका प्रमुख मानबहादुर जिसीसहित सम्पूर्ण वडाध्यक्ष तथा कास्कीका ४ वटा गाउँपालिकाका प्रमुख र उपप्रमुखलाई सम्मान गर्ने क्रममा उक्त अभिव्यक्ति दिएका हुन्।

अध्यक्ष विश्वशंकर पालिखेले जनप्रतिनिधीहरूको सफल कार्यकालको कामना गर्दै पोखरा उद्योग वाणिज्य संघले पोखरा महानगरपालिकासँग विभिन्न परियोजनामा सहकार्य गरेको स्मरण गर्दै एकीकृत सम्पत्ति करको विषयमा भने शुरूको सहमति अनुसार काम हुन नसकेको बताउनुभयो। ‘हामी निजी क्षेत्र कर तिर्न तयार छौं तर एकीकृत सम्पत्ति करमा हलो अड्काएर गोरु चुट्ने काम भएको छ,’ उहाँले भन्नुभयो–‘शुरूका दिनमा भएको सम्झौता कार्यान्वयन गरौं।’ फुटपाथमा हुने अनधिकृत व्यापार र पोके व्यापारी नियन्त्रणमा महानगरको ध्यान पुग्नुपर्नेमा उहाँको जोड थियो।

पोखरा उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीले पारदर्शी भएर नै करको दायरा निर्धारण गर्ने बचनबद्धता व्यक्त गर्नुभयो। ‘हामीलाई दृश्य वा अदृश्य रूपले कर असुलेर महानगर बनाउनु छैन, अहिले तत्काल कर नीतिमा दायाँबायाँ हुँदैन, तपाईंहरूसँग केही छ दिनुहोस्, खुलासा गर्नुहोस्।’ स्थानीय निकाय परिचालनको लागि चाहिने नीति नियम निर्माण नभइसकेकाले अहिलेकै साधन र स्रोत परिचालन गरी समृद्ध महानगरपालिका बनाउनु पर्ने उहाँको भनाइ थियो। पोखरालाई उद्यमी⁄व्यवसायीको शहर बनाउने धोको रहेको बताउँदै उहाँले सुरक्षाको ग्यारेन्टी, पूर्वाधारसम्मको पहुँच निर्माणमा आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो। पोखरामा रहेका ४ लाख १४ हजार जनतालाई चाहिने अत्यावश्यक सामग्री यही उत्पादनको वातावरण निर्माण गर्ने उद्घोष गर्दै सके निर्यातको लागि पनि आफूले काम गर्ने उहाँले बताउनुभयो।

कार्यक्रममा बोल्दै संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले छाडा चौपाया नियन्त्रण, औद्योगिक क्षेत्रको व्यवस्थापन, पोखरा बसपार्क निर्माणलगायतका भौतिक पूर्वाधार निर्माणमा महानगरको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो।

संघका महासचिव दामु अधिकारीले पोखरा उद्योग वाणिज्य संघ जिल्लास्तरीय उद्योग वाणिज्य संघ भएकाले जिल्लाका सबैजसो क्षेत्रका विकास निर्माणका काममा हातेमालो गर्न तयार रहेको बताउनुभयो। पोखराको विकासको लागि आसपासका गाउँपालिकाहरू पनि समृद्ध बन्नुपर्छ भन्ने संघको पुरानो मान्यता रहेको धारणा व्यक्त गर्नुभयो।