महानिर्देशक शर्मालाई ७ दिन थुन्न अनुमति


काठमाडौं, (नेस)
भ्रष्टाचारको अभियोग लागेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई थप अनुसन्धानका लागि सात दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ।

अदालतले शर्मालाई थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको हो। भ्रष्टाचारको आरोपमा पक्राउ परेका महानिर्देशक शर्मालाई अख्तियारले म्याद थपका लागि आइतबार विशेष अदालत लगिएको थियो।

अख्तियारले थप अनुसन्धानका लागि भन्दै विशेष अदालतमा पक्राउ गरेको दिनदेखि लागू हुने गरी ३० का लागि म्याद थप्न माग गरेकोमा अदालतको इजलासले पक्राउ गरेको दिनदेखि लागू हुने गरी ७ दिनका लागि म्याद थप गरेको विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिनुभयो।

एनसेलको कर प्रकरण संलग्न भएको, अकुत सम्पत्ति कमाएको र कर फछ्र्यौट आयोगमा व्यापारीलाई २० अर्ब रुपियाँ रकम छुट दिएको आरोपमा अख्तियारले शुक्रबार दिउँसो विभागबाटै उनलाई पक्राउ गरेको थियो। म्याद थपका लागि अदालत ल्याउँदा शर्माले अख्तियारकै सुरक्षा घेराबाट सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिनुभएको थियो।

उहाँले आफूले विद्यमान ऐन नियममा उल्लेखित व्यवस्थाअनुसार विधिसम्मत काम गरेको दाबी गर्दै आफूमाथि लागेको आरोप कर फछ्र्यौट आयोगको विधि निर्माण गर्ने संसद् र सरकारको अपमान भएको प्रतिक्रिया दिए।