मृतक परिवारलाई ३० लाख क्षतिपूर्ति दिने सहमति


नेपाल समाचारपत्र
काठमाडौं
सामान्य पेट दुखेर परीक्षणका लागि मिडाट अस्पताल, लगनखेलमा पुग्नुभएकी काभ्रे बनेपाकी ५४ वर्षीया एक महिलाका लागि उक्त अस्पताल र चिकित्सकको लापरबाहीका कारण उनी कहिल्यै फर्किनन्।

नमोबुद्ध नगरपालिका वडा नम्बर ८ स्थायी घर भएकी रोजकुमारी श्रेष्ठले निकै ठूला सपना साँचेर आफ्ना सन्तानका अगाडि पीडा लुकाउँदै छोरी र ज्वाइँको साथमा स्वास्थ्य परीक्षण गराउन यही १५ गते बनेपा नगरपालिका–१० बाट बाहिरिएकी थिइन् तर उनी कहिल्यै फर्किनन्।

‘परीक्षणका लागि गएकी श्रेष्ठलाई पाटन अस्पतालमा समेत कार्यरत चिकित्सकले पाठेघरको समस्या भइसकेको र आजै भर्ना भएर शल्यक्रिया गर्नुपर्छ भनेकै कारण तत्काल २० हजार डिपोजिट गरी भर्ना गराएँ। तर, उनीहरूले पाठेघरको शल्यक्रियाका लागि पेटको ४ ठाउँमा प्वाल पारी उनको पाठेघर काटेर निकालेछन्। पाठेघर काट्ने क्रममा सँगै जोडिएको आन्द्रा पनि काटेछन्’, रोजकुमारीका श्रीमान् जितबहादुर श्रेष्ठ भन्नुहुन्छ– ‘डाक्टरहरूकै लापरबाहीका कारण श्रीमतीको अल्पायुमा ज्यान गयो। पाठेघरको शल्यक्रिया किन त्यति हतारमा गरे र यस्तो लापरबाही गरेर ज्यान नै लिए।’
मिडाट अस्पतालमा आईसीयू नभएकाले पाटन अस्पताल पठाएको परिवार स्रोतले बताए। श्रेष्ठको पाटन अस्पतालमा मृत्यु भएको थियो।

७ छोरीमा ५ छोरीको विवाह भइसक्यो २ छोरी सानै छन्। श्रेष्ठको २० गते साँझ ६ बजे पाटन अस्पतालको सघन उपचार कक्षमा उपचारकै क्रममा शनिबार मृत्यु भयो।

आइतबार पीडित पक्षले अस्पतालविरुद्ध नाराबाजी गरेपछि अस्पताल प्रशासन र पीडित पक्षबीच भएको वार्ता भएपछि पीडित परिवारलाई ३० लाख रुपियाँ क्षतिपूर्ति दिने सहमति भएपछि परिवारले लास बुझेका थिए। मृतक श्रेष्ठको आइतबारै अन्त्येष्टि गरियो।