वैदेशिक रोजगार व्यवसायी संघको चुनाव अन्योलमा

0
Shares

रोविन पौडेल, काठमाडौं

सरकारले स्थानीय निकायको दोस्रो चरणको निर्वाचन असार १४ गते गर्ने निर्णय गरेसँगै वैदेशिक रोजगार व्यवसायी संघको चुनाव अनिश्चित बनेको छ। सरकारले स्थानीय निकायको चुनावको मिति सारेपछि संघको चुनाव कहिले गराउने भन्ने विषयमा अन्योल बढेको हो।

पहिले सरकारले स्थानीय निकायको चुनाव असार ९ गते निर्णय गर्दा संघको निर्वाचन असार १७ का लागि तय भएको थियो। तर, सरकारले पछि निर्वाचनको मिति परिवर्तन गर्दा संघको चुनाव पनि सार्नु परेको संघको निर्वाचन समितिका संयोजकसमेत रहनु भएका पूर्वअध्यक्ष तिलक रानाभाटले बताउनुभयो।

नेपाल समाचापत्रसँग कुरा गर्दै रानाभाटले भन्नुभयो–‘स्थानीय निकायको चुनावमा मतदाता तथा उम्मेदवारको रूपमा भाग लिने हाम्रा प्रतिनिधि पनि हुनुहुन्छ। स्थानीय निकायको चुनाव सकिएको चार दिनभित्रै हाम्रो चुनाव गर्न सम्भव नभएकाले चुनाव सर्ने लगभग निश्चित छ।’ चुनावले ७ पदाधिकारी तथा १० सदस्यसहित जम्मा १७ जनाको चयन गर्ने उहाँले जानकारी दिनुभयो।

चुनावको अर्को मिति भने तय भएको भने छैन। मिति तय भएपछि निर्वाचन कार्यतालिका सार्वजनिक हुने रानाभाटले जानकारी दिनुभयो। संघको आसन्न निर्वाचनले एक अध्यक्ष, एक प्रथम उपाध्यक्ष तथा दुई उपाध्यक्ष चयन गर्ने छ। त्यस्तै एक महासचिव, एक सचिव र एक कोषाध्यक्ष हुनेछन्। संघको संशोधित विधानले आगामी निर्वाचनमा ७ पदाधिकारी तथा विगतका यस्तै पदाधिकारी मात्र अर्को कार्यसमितिका लागि अध्यक्ष पदमा उठ्न पाउने व्यवस्था गरेको छ।

विधान संशोधनबाट संघमा सिन्डिकेट सिर्जना गर्न खोजिएको केही सदस्यले आरोप लगाएका छन्। संघको विद्यमान विधान परिवर्तन गरी समितिका साधारण सदस्यलाई आगामी समितिको अध्यक्ष पदमा उठ्ने अधिकारबाट बन्चित गरेको उनीहरूको आरोप छ। संशोधनसँगै संघमा पकड बलियो भएकाहरू मात्र अध्यक्ष पदमा लड्न सक्ने तथा आफूहरू अध्यक्ष पदमा उठ्नबाट बञ्चित भएकामा सदस्यहरूले विरोध जनाएका हुन्।
पूर्वअध्यक्षसमेत रहनुभएका तिलक रानाभाटले संशोधनले एउटै कुरा मात्र परिवर्तन गरेको जानकारी दिनुभयो। उहाँले पदाधिकारीको व्याख्या मात्र संशोधन गरिएको बताउनुभयो। पहिले पदाधिकारी भन्नाले समितिका सम्पूर्ण सदस्य भन्ने बुझिन्थ्यो भने अहिले अध्यक्ष, उपाध्यक्षलगायत ७ सदस्य मात्र बुझिन्छ। उहाँका अनुसार कुनै एक कार्यकालको पदाधिकारीले मात्र संघको अध्यक्ष पदमा उम्मेदवार दिन योग्य हुने व्यवस्था छ।

रानाभाटले भन्नुभयो–‘पहिले कुनै एक कार्यकालमा सदस्य हुनेले अध्यक्ष पदमा उठ्न पाउँथे। तर, अहिले प्रमुख पदमै रहनुपर्ने व्यवस्था गरिएको छ।’ संघको कार्यसमितिमा २१ जना सदस्य हुने व्यवस्था छ। ती मध्ये १७ जना प्रत्यक्ष निर्वाचनबाट चयन हुनेछन् भने ४ जना पुर्वअध्यक्षहरूको समितिले मनोनित गर्नेछन्।

यसैबीच वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनका लागि वर्तमान महासचिव एवम् टप्स जब नामक म्यानपावर सञ्चालक रोहन गुरुङले उम्मेदवारी दिने पक्का भएको छ। गुरुङ प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चको तर्फबाट संघको अध्यक्षमा उठ्ने पक्का भएको हो। मञ्चबाट पाजु इन्टरनेसनलकी सञ्चालिक रमिला ताम्राकार कोषाध्यमा उठ्ने हुनुभएको हो।

त्यस्तै मञ्चको बैठकले केटल इन्टरनेसनलका सञ्चालक कमल सापकोटा र सजिमा इन्टरनेसनलकी सञ्चालिका सविना श्रेष्ठलाई सदस्यमा उठाउने निर्णय गरेको छ। गुरुङको प्यानलबाट मदिना इन्टरनेसनलकी सञ्चालिका सुवर्ण श्रेष्ठले महासचिवमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ। त्यसको टुंगो भने लाग्न बाँकी छ। बलबहादुर तामाङ संघको अध्यक्ष हुँदा श्रेष्ठ सचिवमा निर्वाचित हुनु भएको थियो।

त्यस्तै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले वर्तमान प्रथम उपाध्यक्ष किरणकिशोर घिमिरेलाई अध्यक्षको प्रत्यासीका रूपमा अगाडि बढाउने भएको छ।