देउवा–ओलीबीच भेट, देउवाको प्रस्ताव ओलीद्वारा अस्वीकार


नेपाल समाचारपत्र
काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार ओली निवास बालकोटमा भेटवार्ता भएको छ। छलफलका लागि सभापति देउवा साँझ ६ बजे एमाले अध्यक्ष ओली निवास बालकोट पुग्नुभएको थियो।

२ घण्टा भएको भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भेटमा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिले अध्यक्ष ओलीसँग संसद्को अवरोध अन्त्य गर्नेबारेमा छलफल भएको बताउँदै प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेसलाई सहयोग गर्न आग्रह गरिएको बताउनुभयो।

भेटका क्रममा ओलीले भरतपुरमा पुनः मतदान हुने विषयले एमाले गम्भीर भएको बताउनुभएको उल्लेख गर्दै नेता निधिले पुनः मतदान र प्रधानमन्त्रीको निर्वाचनलाई एउटै दृष्टिले नहेर्न आग्रह गरेको बताउनुभयो। भरतपुरमा पुनः मतदान गर्ने कुरामा कांग्रेसको कुनै हात नरहेको बताउँदै उहाँले यो निर्वाचन आयोगको अधिकारको विषय भएको बताउनुभयो।

सभापति एवं प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवाले संसद्मा अवरोध नगर्न र प्रक्रियामा भाग लिन गरेको आग्रह एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गर्नुभएको छ।

प्रधानमन्त्री निर्वाचनमा सहयोग गर्ने शनिबार ओली निवास भक्तपुरको बालकोट पुग्नुभएका देउवाको प्रस्ताव उहाँले अस्वीकार गर्नुभएको हो।
प्रधानमन्त्री निर्वाचनमा सहयोग गर्न देउवाले आग्रह गरे पनि चितवनको भरतपुरमा पुनः मतगणना शुरू नभएसम्म संसद् चल्न नदिने चेतावनी ओलीले दिनुभएको थियो। देउवाका स्वकीय सचिव भानु देउवाले देउवाको भनाइ उद्धृत गर्दै भन्नुभयो– ‘प्रधानमन्त्री निर्वाचनको प्रक्रियामा भाग लिनुहोस्।

भरतपुरको बारेमा निर्वाचन आयोगले निर्णय नै गरिसकेको छ, प्रमुख दलहरूबीच मिलेर अगाडि बढ्नुपर्छ, यसमा एमालेको साथको पनि खाँचो छ।’ जवाफमा ओलीले चितवन घटनाको बारेमा निर्वाचन आयोगले गलत निर्णय गरेकाले नसच्याएसम्म संसद्को अवरोध कायम राख्ने बताउनुभएको थियो।