प्रधानन्त्रीको निर्वाचन रोक्ने एमाले निर्णय


चितवनमा मतगणना जारी नभए निर्वाचनमा भाग नलिने

मधुसुदन रायमाझी, काठमाडौं

प्रमुख प्रतिपक्ष दल एमालेले आइतबार हुने प्रधानमन्त्रीको निर्वाचन रोक्ने निर्णय गरेको छ।

चितवनको भरतपुर महानगरपालिकामा स्थगित भएको मतगणना सुचारु गर्नुपर्ने माग राख्दै संसद् अवरुद्ध गरेको अवस्थामा प्रधानमन्त्री निर्वाचन हुन नसक्ने एमालेले बताएको छ।

सहमतिविना नै प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक भएकोप्रति असन्तुष्टि जनाउदै एमालेले संसद्को जारी समस्या समाधान नभएसम्म अवरोध कायमै राख्ने निर्णय गरेको छ।

नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले प्रमुख प्रतिपक्षले प्रधानमन्त्रीमा उम्मेदवारी नदेओस् भनेरै विधि र प्रक्रियाविपरीत प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको बताउनुभयो।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘कार्य व्यवस्था परामर्श समितिको बैठकमा हामीले संसदमा अवरोध हटाउन माग गरेका थियौं, हामी आन्दोलनमा छौं, प्रतिपक्षी दलको सहमति विना नै निर्वाचनको सूचना प्रकाशित गरिएको छ, यो मान्य हुन सक्दैन।’

संसद्को अवरोध हटाउनको लागि सत्तारुढ दल जिम्मेवार नबनेको आरोप एमालेले लगाएको छ। जेठ १५ गते बजेट पेस गर्न दिएपछि चितवनमा मतपत्र च्यातिएको घटनालाई लिएर एमालेले मतगणना अगाडि बढाउनुपर्छ भन्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ।

एमालेसहित विपक्षी ८ दलको बैठकमा पनि संसद् खुलाउन सत्तापक्ष तयार नभएसम्म संसद्को अवरोध कायमै राख्ने निर्णय गरेको छ।

सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको विपक्ष गठबन्धनको बैठकले चितवनमा पुनः निर्वाचन गर्न असम्भव रहेकाले मतगणनालाई नै निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ।
बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् नखुल्दासम्म संसद्को प्रक्रिया अगाडि बढन नसक्ने बताउनुभयोा। ‘बहुमतीय सरकार गठन गर्नकालागि राष्ट्रपतिले पठाउनुभएको पत्र संसद्मा बढेर सुनाएपछि मात्र प्रधानमन्त्री निर्वाचनको प्रक्रिया अगाडि बढछ’,–ओलीको भनाई उदृत गर्दै एक नेताले भने,‘अन्य बाटोबाट प्रधानमन्त्रीको निर्वाचन हुन सक्दैन, लोकतान्त्रिक विधि र प्रक्रियाबाट मात्र प्रधानमन्त्रीको निर्वाचन हुनुपर्छ।’

तर विपक्षी गठबन्धनमा रहेका साना दलका नेताहरूले पनि संसद्को अवरोध हटाउनुपर्ने माग राखेका थिए। चितवनमा मतगणना गर्नुपर्ने विषयमा असहमति नरहे पनि संसद्मा जारी अवरोध लामो समयसम्म राख्न नहुने सुझाव एमालेलाई दिएका थिए। एमालेबाहेका दलहरूले पनि संसद् अवरुद्ध गरेका छैनन्।

विपक्षी गठबन्धनमा आबद्ध नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले संसद्को अवरोध गर्नु राम्रो काम नभएको सुझाव दिएको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘संसद्को अवरोध हटाउनुपर्छ, सरकार र एमाले दुवै जिम्मेवार बन्नुपर्छ, संसद् अवरुद्ध गर्नेमा हाम्रो समर्थन छैन।’ एमालेसहितको विपक्षी गठबन्धनमा नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेपाल परिवार दलसहित १ सय ९८ जना सांसद रहेका छन्।

नेमकिपा सहभागी भएन

प्रमुख सचेतक ढकालले भने संसद अवरुद्ध नखुल्दासम्म आफ्नो पार्टीले प्रधानमन्त्रीको उम्मेदवार सार्वजनिक नगर्ने बताउनुभयो।

ढकालले भन्नुभयो– ‘सूचना जारी गरेर राजपत्रमा प्रकाशित गर्नुहुन्छ कि क्याविनेटले निर्णय गर्नुहुन्छ।’। उहाँले संसद्को अवरोध अन्त्य होस् भन्ने आफूहरूको चाहना भएको उल्लेख गर्दै अवरोध हटाउने सत्तापक्ष जिम्मेवार भए प्रधानन्त्री निर्वाचन प्रक्रियामा सहयोग गर्ने बताउनुभयो।

सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले राष्ट्रपतिले पठाएको पत्र रोक्ने अधिकार सभामुखलाई नभएकाले नै प्रधानमन्त्री निर्वाचनको सूचना सार्वजनिक गरेको बताउनुभयो।

सभामुख ओनसरी घर्तीले सहमति कायम गर्नका लागि बोलाइएको शीर्ष तीन दलको बैठकमा शीर्ष नेताहरू सहभागी हुनुभएन। एमाले अध्यक्ष केपी ओली कार्यव्यवस्ताको कारण बैठकमा सहभागी हुन नसक्ने बताएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवा पनि अनुपस्थित हुनुभएको थियो। तर सभामुखको पहलमा तीन दलको शीर्ष नेताहरू सहभागी नभएपछि दोस्रो तहका नेताहरूको बैठक बसेको थियो।

बैठकमा कांग्रेसको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, नेता पूर्णबहादुर खड्का, एमालेका नेता सुवासचन्द्र नेम्वाङ र नेकपा माओवादी केन्द्रका नेतास मेत रहेका उपप्रधान एंव अर्थ मन्त्री कृष्णबहादुर महरालगायतको सहभागीता रहेको थियो।