कृष्ण सेनको स्मृति दिवस मनाइयो


नेपाल समाचारपत्र
काठमाडौं
शहीद कृष्ण सेन ‘इच्छुक’ को १५औं स्मृति दिवस मनाइएको छ। शनिबार बिहान काठमाडौंको नयाँ बानेश्वरबाट शुरु भएको प्रभातफेरी कार्यक्रम माइतीघर मण्डलामा गएर कोणसभामा परिणत भएको थियो। सभामा बोल्ने अधिकांश वक्ताले सेनका हत्याराहरूलाई कारबाहीको माग गरेका थिए।

कार्यक्रममा शहीद कृष्ण सेन ‘इच्छुक’ की जीवन संगिनी तक्मा केसीले हत्या भएको १५ वर्षदेखि निरन्तर हत्यारालाई कानुनी कठघरामा ल्याएको देख्न चाहन्थ्यौँं तर हुन नसकेकोप्रति दुःख व्यक्त गर्नुभयो। नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले सेन बहुआयामिक प्रतिभाका धनी रहेको चर्चा गर्दै राजनीति, पत्रकारिता र साहित्यका त्रिवेणी व्यक्तित्व सेनका हत्यालाई प्रशासनले अहिलेसम्म आधिकारिकरूपमा घोषणा नगर्नु दुःखद विषय बताउनुभयो।

त्यसै गरी प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष गोविन्द आचार्यले १५ वर्ष बितिसक्दा पनि हत्याराले उन्मुक्ति पाइरहेको बताउँदै अहिले आफूहरूको आवाज पनि मलिन भएको बताउनुभयो। इच्छुकका अनुयायीहरू विभिन्न समूहमा विभाजित भए पनि इच्छुकको १५औं स्मृति दिवसमा सबै एक ठाउँमा भएकोमा खुसी पनि व्यक्त गरे।

कार्यक्रममा प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदीले आदर्श र प्रतिभाका धनी इच्छुक जस्तो व्यक्तित्वका हत्यारालाई जतिसक्दो चाँडो कारबाही गनुपर्ने बताउनुभयो।