लुक्लामा विमान दुर्घटना – क्याप्टेनको मृत्यु, दुई जना घाइते



बुद्धवीर बाहिङ⁄सोलु,दीपेन्द्र थापा⁄काठमाडौं
गोमा एयरको नाइन एन एके वाई कल साइन र एलईटी ४१० फ्लाइट नम्बरको कार्गो विमान लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा अवतरणका क्रममा शनिबार दुर्घटना भएको छ। विमानका सिनियर क्याप्टेन पारसकुमार राईको उपचारका क्रममा पासाङ ल्हामु निकोलनिकी अस्पतालमा निधन भएको छ भने चालक दलका दुई सदस्यहरू घाइते भएका छन्।

अवतरण गर्न १ मिनेट बाँकी रहँदा विमान दुर्घनामा परेको हो। काठमाडौंबाट १ बजेर २९ मिनेटमा सामान बोकेर लुक्ला पुगेको विमान २ बजेर ५ मिनेटमा तेन्जिङ हिलारी विमानस्थलमा अवतरण गर्नुपर्नेमा विमान २ बजेर ४ मिनेटमा दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। विमानमा रहेका सिनियर क्याप्टेन पारसकुमार राई, कोपाइलट सृजन मानन्धर र एयर होस्टेज प्रज्ञा महर्जन गरी ३ जना सवार थिए।

प्रवक्ता ठाकुरका अनुसार ल्यान्ड गर्ने क्रममा धावनमार्ग भन्दा १ सय ५० फिट तल खोंचमा खसेर विमान दुर्घटना भएको थियो। विमान दुर्घटना हुनासाथ प्रहरी र स्थानीयको सहयोगमा घाइते चालक दलका सदस्यहरूलाई नजिकको अस्पताल लगिएको थियो। जसमा पाइलट राईलाई च्यापिएको अवस्थाबाट उद्धार भएकोमा अस्पतालले मृतक घोषित गरेको थियो।

प्रवक्ता ठाकुरका अनुसार तेन्जिङ हिलारी विमानस्थल भिजुअल फ्लाइट रुल्समार्फत सञ्चालित विमानस्थल हो। यस्तो उडानमा ५ किलोमिटरसम्मको दूरी सफा हुनुपर्छ र १२ नोर्थ स्पिडभन्दा बढी हँुदा विमानस्थलको सेवा बन्द गर्नुपर्छ। यो सबै प्राविधिक पक्ष बलियो हुँदासमेत विमान दुर्घटनामा परेको थियो।

घाइते एयर होस्टेज प्रज्ञा महर्जनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी गरेर उडान भर्दा समेत मौसमको खराबीका कारण उडान सफल नभएपछि पुनः स्थानीय अस्पतालमै फर्काइएको छ। घाइते मानन्धर र महर्जनलाई लुक्लामै उपचार भइरहेको गोमा एयरका अपरेसन म्यानेजर सागर आचार्यले बताउनुभयो।
को हुन् पाइलट?

काठमाडौं बूढानीलकण्ठ नगरपालिका–३ चपली निवासी पारसकुमार राई १ अप्रिल २०१४ बाट गोमा एयरमा कार्यरत थिए। उनको अप्रिलसम्मको तथ्याङ्कअनुसार ९ हजार ६ सय ८७ घण्टा उडान भइसकेको थियो। गोमा एयरको नाइन एन एकेवाइ कल साइनको एयरक्राफ्ट मानै सिनियर क्याप्टेन राईले १ हजार ८ सय ४५ घण्टा उडान भरिसकेका थिए। राईका पत्नीसहित ५ कक्षा अध्यनरत एक छोरी तथा १ कक्षामा अध्यनरत एक छोरा छन्। उनीहरूले शनिबार बिहान ६ बजेर १० मिनेटमा काठमाडौंबाट लुक्ला उडान गरेका थिए। यसरी क्याप्टेन राईको समूहले ४ पटक काठमाडौं लुक्ला सफल उडान भरेको थियो। ५औं काठमाडौं लुक्लाको उडान क्याप्टेन राईको जिन्दगाीको अन्तिम उडान बन्न पुग्यो।
मौसममा आएको गडबडीका कारण विमान दुर्घटना भएको मौसमविद्को भनाइ छ। शनिबार लुक्लासहित अन्य पहाडी भेगमा मौसम बदलिएकाले लुक्ला विमानस्थलको भिजिविलिटी कम भएको मौसमविद् वरुण पौडेलले बताउनुभयो। लुक्लाको मौसम खराब भएकाले उद्धारमा कठिनाइ भएको छ भने मौसमका कारण अहिले लुक्लामा सबै उडानहरू रद्द गरिएको छ। दुर्घटनामा परेको विमान २० अक्टोबर, २०१४ मा किनिएको थियो। भोजपुरबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका क्याप्टेन राईले पिपल्स क्याम्पस पकनाजोलबाट प्रमाणपत्र तह उत्तीर्ण गरेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्