‘निर्वाचन कसैले चाहेर पनि रोक्न सक्दैन’


नेपाल समाचारपत्र
भक्तपुर
नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचन कसैले चाहेर पनि रोक्न नसक्ने बताउनुभएको छ। रफत सञ्चार क्लबले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले दोस्रो चरणको निर्वाचनमा असन्तुष्ट राजनीतिक दलहरूसमेत सहभागी हुने विश्वास व्यक्त गर्नुभयो। पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अपेक्षाअनुसार माओवादी केन्द्रले जित हासिल गर्न नसकेको उहाँले बताउनुभयो।

निर्वाचनमा हार र जित स्वभाविकै भए पनि माआवादी केन्द्रको एजन्डा सफल भएको र नैतिक जित भएको बताउनुभयो। उहाँले सरकारले अहिले ल्याएको बजेट, नीति तथा कार्यक्रम नियमित भएका कारण यस विषयमा टिकाटिप्पणी गरी आचारसंहिताविपरीत भन्नु अर्थहीन भएको बताउनुभयो।

उहाँले विगतमा राजनीतिक दलबीच भएको सहमतिका आधारमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदबाट राजीनामा दिएको भन्दै प्रधानमन्त्री दाहालको राजीनामा बारे कुनै शंका गर्न नहुने र यही गठबन्धनको सरकारले निरन्तरता पाउने दाबी गर्नुभयो। नयाँ गठन हुने सरकार नेपाली कांग्रेसको नेतृत्वमा बन्ने र त्यो सरकारलाई सहयोग गर्दै माओवादी केन्द्र सरकारमा सहभागी हुने प्रवक्ता भुषालले बताउनुभयो।