संघीय गठबन्धनद्वारा आन्दोलन घोषणा


मनोनयन दर्ता गर्ने दिन आम हडताल

नेपाल समाचारपत्र,काठमाडौं
स्थानीय निकायको दोस्रो चरणको निर्वाचनका विरुद्ध राष्ट्रिय जनता पार्टी नेपालसहितको संघीय गठबन्धनले आन्दोलनको घोषणा गरेको छ।

विभिन्न चरणको आन्दोलन गरी संविधान संशोधनको माग गर्दै आएको संघीय गठबन्धनले संविधान संशोधनविना निर्वाचन हुन लागेको भन्दै निर्वाचन बिथोल्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शुक्रबार काठमाडौंस्थित राजपाको कार्यालयमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरिएको छ।

पत्रकार सम्मेलनमा संघीय गठबन्धनका संयोजक महन्थ ठाकुरले संविधान संशोधन र आफूहरूको माग पूरा नभएसम्म निर्वाचन हुन नदिने बताउँदै निर्वाचन बिथोलिने बताउनुभयो। ठाकुरले सरकारले अहिलेसम्म मधेसको कुनै पनि माग पूरा नगरेको भन्दै आफूहरू विवश भएर आन्दोलनमा जानुपरेको बताउनुभयो।

विगत एक सातादेखि जारी रहेको राजपाको बैठकले आन्दोलनमा जाने निर्णय गरेको थियो। त्यसपछि संघीय गबठन्धनका नेताहरूले आन्दोलनलाई अनुमोदन गरेपछि शुक्रबार घोषणा गरिएको छ।

आन्दोलन घोषणा कार्यक्रममा लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिंगदेनले आन्दोलनका कार्यक्रमसम्बन्धी जानकारी गराउनुभएको थियो भने ठाकुरले प्रस्ट पार्नुभएको थियो। १३ गतेबाट शुरू हुने आन्दोलनमा मसाल जुलुसलगायत निर्वाचनका लागि मनोनयन दर्ता गराउने दिन अर्थात् १८ र १९ गते आमहड्तालको घोषणा गरिएको छ।
शुक्रबार आन्दोलनको घोषणाअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनका संयोजक ठाकुरबीच छलफल भएको थियो। छलफलमा आन्दोलनमा नगई निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीले ठाकुरलाई आग्रह गर्नुभएको थियो। तर ठाकुरले विनासंविधान संशोधन निर्वाचनमा जान नसकिने प्रस्ट पार्नुभएको थियो।

यता आन्दोलनमा सहभागिताका बारे विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमसँग पनि छलफल जारी रहेको छ।