संसद् अझै अवरुद्ध


आज १ बजे बस्दै शीर्षस्थ बैठक

काठमाडौं, (नेस)
प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधका कारण विगत लामो समयदेखि व्यवस्थापिका संसद्को काम कारवाही अगाडि बढ्न सकेको छैन। बिहीबार राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिए पनि त्यसपछिको दोस्रो बैठकसमेत बस्न पाएन।

शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक एमालेको विरोधका कारण चल्न सकेन। शुक्रबार नै दोस्रोपटक ४ बजे बोलाइएको बैठक सूचना टाँस गरी स्थगित भएको छ।

सरकारले स्थानीय तह थप गरेको विरोधमा एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ। अवरुद्ध संसद् बैठक सञ्चालन गर्ने विषयमा सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलका नेताहरूको बैठक बोलाउनुभएको थियो।

तर शीर्ष तीनै दलका नेताहरू सभामुखले बोलाएको छलफलमा सहभागी भएनन्। जसकाकारण बैठक स्थगित गर्नुपर्यो। शनिबार दिउँसो १ बजेका लागि पुनः बैठक बोलाइएको छ।

यसअघि पनि दलहरूबीच पटकपटक छलफल भए पनि सहमति हुन सकेको छैन। संसद् अवरोध जारी रहेको खण्डमा नीति तथा कार्यक्रम पास हुनेछैन। साथै जेठ १५ गते ल्याउने भनिएको बजेटसमेत प्रभावित हुनेछ।