प्रधानमन्त्रीद्वारा राजीनामा


मधुसूदन रायमाझी, काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ। सरकार गठन भएको १० महिनापछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिअनुसार प्रधानमन्त्रीले राजीनामा दिनुभएको हो। प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका संसद्मा सम्बोधन गरेर राजीनामा दिन चाहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध गरेपछि सिंहदरबारबाट नै राष्ट्रको नाममा सम्बोधन गर्दै राजीनामा दिने घोषणा गर्नुभएको हो।

उहाँले राजनीतिको सबैभन्दा ठूलो समस्या राजनीतिक नेतृत्वमा इमानको कमी र उपयोगको संस्कृति हुने गरेको बताउँदै दलहरू र नेताहरूका बीचमा पटक–पटक भएका लिखित र अलिखित सहमतिहरू रातारात च्यातिएको बताउनुभयो। ‘सत्ता साझेदारीका हकमा त अहिलेसम्म कुनै सहमति राम्रोसँग पालना भएको छैन। कसैको कसैप्रति कुनै भरोसा नहुने र हरेकले हरेकलाई उपयोग मात्रै गर्ने आजसम्मको प्रवृत्तिले लोकतन्त्रलाई संस्थागत हुन दिनेछैन’, प्रचण्डले भन्नुभयो– ‘वचनको भरोसा नभएको नेतृत्वले लोकतन्त्र र राष्ट्रलाई नेतृत्व दिन सक्दैन।’
दोस्रो चरणको निर्वाचन पनि आफ्नै नेतृत्वको सरकारले गराओस् भन्ने सिंगो देश र प्रतिपक्षीसमेतको सदिच्छाप्रति आफू आभारी रहेको बताउँदै उहाँले भन्नुभयो– ‘मैले नेपाली राजनीतिमा लामो समयदेखिको नैतिकताको खडेरी तोड्ने दृढ संकल्प गरेको छु। नेपाली कांग्रेससँग भएको समझदारीअनुसार नै अगाडि बढेको छु।’

सत्ता छाड्न पर्दा अहिलेसम्म देखिने गरेको पीडा, आक्रोश र छटपटीको परम्परा तोड्दै अबका दिनमा पनि एउटा राजनीतिज्ञ सांसद एवं एउटा नागरिकका रुपमा मुलुक र जनताको उत्थानमा निरन्तर रहिरहने उहाँले बताउनुभयो।
‘राष्ट्रिय एकता र सहमतिका निमित्त मेरो प्रयास निरन्तर जारी रहने छ’, प्रचण्डले भन्नुभयो– ‘सफल प्रधानमन्त्रीका रुपमा बिदा लिन पाउँदा खुसीको अनुभूति गरेको छु।’

प्रधानमन्त्रीका रूपमा चौतर्फी राजनीतिक, सामाजिक, आर्थिक र कूटनीतिक समस्याका बीच संसद्बाट प्रधानमन्त्री पदको जिम्मेवारी लिएको स्मरण गर्दै उहाँले १० महिनाको छोटो अवधिमा सरकार त्यो परिस्थिति बदल्न सफल भएको बताउनुभयो।

स्थानीय तहको पहिलो चरणको निर्वाचन अत्यन्त शान्तिपूर्ण, निष्पक्ष र उल्लासपूर्ण ढंगले सम्पन्न भएको र चार प्रदेशमा दोस्रो चरणको निर्वाचनका लागि लगभग सबै तयारी पूरा भइसकेको उहाँले बताउनुभयो।

दृढ इच्छाशक्ति र संकल्प नभएको भए सबै आशंका र अविश्वासलाई चिर्दै यो निर्वाचन सम्पन्न गर्न सजिलो नभए पनि स्थानीय तहको निर्वाचनसँगै लोकतन्त्र अब संविधानका अक्षरहरूबाट हरेक गाउँ र नगरका वडामा पुगेको बताउनुभयो।
‘निर्वाचनमा कसले जित्यो र कसले हार्यो ? भन्ने प्रश्न मेरा लागि शुरुदेखि नै गौण रह्यो। तात्कालिक र क्षणिक जित–हारका स्वार्थमा अल्झेको भए निर्वाचन नै हुने थिएन’, प्रचण्डले भन्नुभयो– ‘निर्वाचनमा संघीय लोकतान्त्रिक गणतन्त्रले जित्यो र समग्रमा राष्ट्रले जित्यो।’

यसपटक जनताले सिधै आफ्नो सिंहदरबार चुनेको बताउँदै अब सही अर्थमा जनता आफैं आफ्नो शासक भएको बताउँदै हजारौं दलित र महिला नेतृत्व स्थापित गरेर यो निर्वाचनले महिला सशक्तीकरण र नेतृत्व निर्माणका दिशामा पनि ऐतिहासिक योगदान दिएको बताउनुभयो।

संविधान कार्यान्वयनसँगै आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय अर्थतन्त्रमा समेत ऐतिहासिक सफलता प्राप्त गरेको बताउँदै यो सरकार बन्नुअघि आर्थिक वृद्धिदर केवल ० दशमलब ८ प्रतिशत रहेकोमा अहिले ७ दशमलब ५ पुगेको बताउनुभयो।

राष्ट्रिय गौरवका ठूला आयोजनाहरूको निरन्तर अनुगमन र यो वर्ष ऐतिहासिक रुपमा पुनर्निर्माणको कामले गति लिएको बताउदै आफैंले निरन्तर अनुगमन र हस्तक्षेप, अर्थतन्त्रलाई चलायमान बनाउने योजनाबद्ध प्रयास र लोडसेडिङको अन्त्यका कारण मुलुकका आर्थिक परिसूचकहरू निकै सकारात्मक भएको बताउनुभयो।

राजस्व लक्ष्यभन्दा २४ प्रतिशत बढी उठेको बताउँदै उहाँले विगत १२ वर्ष यताकै सबैभन्दा कम मूल्यवृद्धि कायम गरिएको बताउनुभयो। सरकारले नेतृत्व सम्हाले लगत्तै लोडसेडिङ अन्त्य गर्ने ठोस संकल्पअनुसार उज्यालो नेपाल अभियान सफल भएको बताउनुभयो। आगामी १ वर्षभित्र २०० मेगावाट, २ वर्षभित्र ६०० मेगावाट र ३ वर्षभित्र १ हजार २०० मेगावाट विद्युत् थप हुँदै जाने बताउँदै नेपालले विद्युत् निर्याततिर अग्रसर हुने उहाँले सम्बोधनका क्रममा बताउनुभयो।
पुनर्निर्माण प्राधिकरणको गति सुस्त र लगभग परिणामहीन देखेपछि सरकारले नेतृत्व नै परिवर्तन गरेर राहत र पुनर्निर्माणमा तीव्रता दिने काम गरेको बताउनुभयो।

आफ्नो नेतृत्वको सरकारले कृषि क्षेत्रको व्यवसायीकरण र औद्योगिकीकरण पनि सरकारको उच्च प्राथमिकतामा दिएको बताउँदै कृषकहरूको हक, हित र अधिकार स्थापित गर्न इतिहासमै पहिलोपटक अधिकारसम्पन्न किसान आयोग गठन गरिएको बताउनुभयो।

आफू प्रधानमन्त्री हुँदा फास्ट ट्रइक के हुन्छ ? ओबीओर के हुन्छ ? हुलाकी मार्ग के हुन्छ ?’ भनि गरिएको प्रश्नको नियत सही थिएन, यो प्रश्नमा अविश्वास थियो, चुनौती थियो। आफैंमाथि विश्वास नभएपछि मान्छेलाई अरुमाथि पनि विश्वास नहुँदोरहेछ, उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै उक्त भनाइ राख्नुभएको थियो।

मधेस–तराईको समग्र अर्थतन्त्र र जनजीवन नै बदल्ने दूरगामी महत्वको हुलाकी मार्ग पनि अहिले सबैभन्दा तीव्र गतिमा काम भइरहेको बताउँदै अब तराई–मधेसको आर्थिक र सामाजिक जीवनमा कायापलट हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले काकाकूल राजधानीले वर्षौंदेखि देखेको मेलम्चीको पानीको सपना अब दशैंअघि नै पूरा हुने बताउँदै पटक–पटक निर्णय भएर पनि कार्यान्वयनमा नआएको नागढु·ा नौविसे खण्डको सुरुङ मार्ग बन्ने सुनिश्चित भएको बताउनुभयो।

आफ्नो नेतृत्वको सरकारले ऐतिहासिक रूपमा लगानी सम्मेलनमार्फत इतिहासमै सबैभन्दा धेरै १३ अर्ब ५१ करोड अमेरिकी डलर अर्थात् झण्डै १४ खर्ब नेपाली रुपियाँबराबरको लगानी प्रतिबद्धता प्राप्त गर्न सफल भएको प्रधानमन्त्री प्रचण्डले दाबी गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले राष्ट्रको नाममा सम्बोधन गरे लगत्तै बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाउनुभएको थियो। राष्ट्रपति भवन शितल निवासमा पुगेर प्रचण्डले राजिनामा बुझाउनुभएको हो।

प्रचण्डले राजीनामा दिएपछि राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा प्रधानमन्त्रीले राजीनामा दिए पनि अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहने बताइएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेद्वारा जारी विज्ञप्तीमा भनिएको छ– ‘नयाँ मन्त्रिपरिषद् गठन भएसम्म यही मन्त्रिपरिषद्ले काम गर्नेछ।’ विज्ञप्तीमा वर्तमान मन्त्रिपरिषद्द्वारा आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यप्रति राष्ट्रपति भण्डारीले प्रधानमन्त्री एवं मन्त्रिपरिषद्का सदस्यहरूलाई धन्यवादसमेत दिनुभएको छ।