चीन र रुस मिलेर विशाल यात्रुवाहक विमान बनाउने


सांघाई, (एजेन्सी)
विश्वमा अन्तरमहाद्विपीय उडान गर्न सक्षम यात्रुवाहक विमानको बजारमा आधिपत्य जमाएका एयसबस एसइ र वोइङ कम्पनीसँग प्रतिस्पर्धा गर्ने विशाल जेट विमान विकास गर्न चीन र रुसले मिलेर काम गर्ने भएको छ।

सरकारी लगानी रहेको कमर्सियल एयरक्रइफ्ट कर्पोरेसन अफ चाइना लिमिटेड र रुसको युनाइटेड एरक्रइफ्ट कर्पोरेसनले सन् २०२५ देखि २०२७ सम्ममा ग्राहको हातमा पुग्ने विमान निर्माण गर्न हात मिलाएको यूएसीका प्रमुख युरी स्लिसारले सांघाइमा बताए। उक्त संयुक्त लगानीले २ सय ८० सिटको जेट विमान विकास गर्ने र त्यसले १२ हजार किलोमिटर अर्थात् लन्डन र सिंगापुरबीचको दूरीभन्दा धेरै उडान भर्न सक्नेछ।

यसै महिनाको पूर्वाद्धमा कोम्याकको सी ९१९, चीनको पहिलो आधुनिक यात्रुवाहक जेटले सांघाईबाट पहिलो परीक्षण उडान भरेको थियो। यो विश्वमा १ सयभन्दा बढी सिटको विमान बजारमा एयरबस र बोइङको बर्चस्वलाई तोड्ने प्रयासमा आएको हो। राष्ट्रपति सि जिनपिङको ‘मेड इन चाइना २०२५’ कार्यक्रमले अर्थतन्त्रलाई गति दिन हवाई अन्तरिक्षलाई पनि समावेश गरेको छ।

उक्त ठूलो जेटको अनुसन्धान र विकास मस्कोमा गरिने र त्यसलाई एसेम्बल भने सांघाईमा हुने कोमाक प्रमुख जिन झुआºलोंगले बताए।

चीन–रुसको २ सय ८० सिटको उक्त विमानले एयरबसको ए३३० र वोइङको ७७७ ट्विन एस्ले विमानसँग प्रतिस्पर्धा गर्नेछ।