अन्तरघातले दलहरूमा भाँडभैलो


मधुसूदन रायमाझी, काठमाडौंं
बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीभित्रबाट अन्तरघात भएको भन्दै राजनीतिक पार्टीभित्र उजुरी पर्ने क्रम शुरू भएको छ। निर्वाचनमा पार्टीभित्र अन्तरघात भएको भन्दै कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष एक दर्जनभन्दा बढी मौखिक उजुरी परेका छन्।

स्थानीय तहको निर्वाचनमा पार्टीभित्रैबाट अन्तरघात भएको निष्कर्ष कांग्रेसले निकालेको छ। स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कांग्रेसले १ सय स्थानीय तहमा विजयी हासिल गरेको छ।

संसद्मा ठूलो दल भएर पनि कांग्रेस स्थानीय तहको निर्वाचनमा दोस्रो स्थानमा रहेको छ। स्थानीय तहको निर्वाचनमा १ सय ८ स्थानमा एमाले विजयी भएको छ। बाँकी मतगणना गर्न बाँकी रहेका स्थानमा पनि एमालेकै अग्रता रहेको छ। कांग्रेसभित्र रहेको गुटबन्दीको असर स्थानीय तहको निर्वाचनमा पनि देखिएको छ। कांग्रेसभित्र तीनवटा गुट सक्रिय रहेका छन्।

पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको गुट केन्द्रदेखि स्थानीय तहसम्म सक्रिय छ। निर्वाचनमा टिकट वितरणमा गुटैपिच्छे देखिएको विवादको असर पनि निर्वाचनको परिणाममा देखिएको निष्कर्ष कांग्रेसले निकालेको छ।

सभापति देउवालाई लमजुङ, बाग्लुङ, नवलपरासी, सिन्धुली, दोलखा, नुवाकोट, काभ्रेलगायतका जिल्लामा भएको स्थानीय तहको निर्वाचनमा पार्टीभित्रैबाट अन्तरघात भएको भन्दै उजुरी परेको छ। नुवाकोट जिल्लामा सबैभन्दा बढी अन्तरघात भएको कांग्रेसले बताएको छ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले अहिलेसम्म परिणाम आएको स्थानीय तहमा पार्टीभित्रबाट अन्तरघात भएको भन्दै सभापतिलाई मौखिक उजुरी गराइएको बताउनुभयो।

उहाँले सभापतिको भनाइ उद्धृत गर्दै भन्नुभयो– ‘पार्टीभित्र अन्तरघात गर्नेलाई कुनै छुट दिइने छैन, निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही हुन्छ, प्रदेश र केन्द्रको निर्वाचनमा असर पर्नबाट जोगाउन पनि पार्टीले कारबाही गर्छ।’ सभापति देउवाले अन्तरघात भएको तथ्य पुष्टि हुने गरी लिखित उजुरी दिन पनि निर्देशन दिनुभएको स्वकीय सचिव देउवाले बताउनुभयो।

निर्वाचन अघि टिकट वितरण गर्ने क्रममा पार्टीभित्र राम्रो उम्मेदवार छनोट गर्नुको सट्टा भागवण्डामा टिकट वितरण गर्दा पनि असर पुगेको निष्कर्ष संस्थापन पक्षले निकालेको छ। देउवा निकट एक नेताले भने– ‘पार्टीभित्र अन्तरघात विगतमा पनि भएको थियो, कडा कारबाही नहुँदा यसपटक पनि देखियो, अब पनि अन्तरघात गर्नेमाथि कारबाही नगर्ने हो भने पार्टीले अझै पराजय भोग्नुपर्छ।’ सभापति देउवालाई कार्यकर्ताले पार्टीलाई हराउन लाग्ने र अन्तरघात गर्नेहरूलाई कारबाही गर्न दबाब दिएका छन्।

नेपाली कांगे्रस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले केन्द्रीय कार्यालयमा अहिलेसम्म लिखित उजुरी भने कसैले पनि नदिएको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘लिखित उजुरी आएको छैन, यदि अन्तरघात गरेको तथ्य पुष्टि हुने गरी उजुरी परे पार्टीले छानविन र कारबाही गर्छ।’ २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा पनि अन्तरघात गरेको भन्दै दर्जनौं उजुरी परेका थिए।

मुख्य सचिव पौडेलले विगतमा अन्तरघात गर्नेहरूमाथि कारबाही गरिएकाले यसपटक पनि प्रमाणित भए कारबाही हुने चेतावनी दिनुभयो। ‘लिखित उजुरी आए, अनुशासन समितिले अनुसन्धान गरेर कारबाही गर्छ’ –उहाँले भन्नुभयो। कांग्रेसभित्र टिकट नपाएको भन्दै केही स्थानीय तहमा बागी उम्मेदवारीसमेत परेको छ।

नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा २ सय ८३ स्थानीय तहमध्ये १ सय ८ स्थानीय तहमा विजयी हुँदै अग्रता कायमै राखेको छ। एमालेभित्र पनि स्थानीय तहको निर्वाचनमा अन्तरघात भएको निष्कर्ष निकालिएको छ। स्थानीय तहको निर्वाचनमा एमालेभित्र कुनै पनि स्थानमा बागी उम्मेदवारी भने परेको थिएन।

नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले गम्भीर प्रकारका अन्तरघात नभए पनि जित्ने स्थानमा नजित्दा अन्तरघात भएको पाइएको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘केही स्थानमा अन्तरघात देखिएका छन्, यस विषयमा सम्बन्धित पार्टी कमिटीले नै कारबाही गर्छ, कतिपय स्थानमा तल कारबाही हुन नसके माथिल्लो कमिटीमा सिफारिस गर्छ, दोषी भेटिए अन्तरघात गर्नेमाथि कारबाही हुन्छ।’ उहाँले खुलेर कसैले पनि निर्वाचनमा असहयोग नगरे पनि कतिपय स्थानीय तहमा विजयी हुने स्थानमा पराजित भएको बताउनुभयो।

हरेक निर्वाचनमा राजनीतिक पार्टीहरूभित्र अन्तरघात हुने गरेको छ। निर्वाचन सम्पन्न भएपछि पार्टी केन्द्रीय कार्यालयमा लिखित उजुरी पर्ने गरेका छन्। स्थानीय तहको केही स्थानमा निर्वाचनको परिणाम आउन अझै बाँकी रहेको छ। मतगणना सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पराजय हुनुको कारणको बारेमा उम्मेदवारहरूले पार्टीमा उजुरी दिने क्रम शुरू भएको छ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिव प्रह्लाद बुढाथोकीले केन्द्रीय कार्यालयमा अहिलेसम्म अन्तरघात भएको भन्ने विषयमा उजुरी नपरेको बताउनुभयो। निर्वाचनमा तेस्रो स्थानमा रहनु पार्टीको आन्तरिक कारण नै बढी रहेको बताउँदै उहाँले माओवादीले गरेको राम्रो कामको विषयमा जनतालाई समयमा नै बुझाउन नसक्दा अपेक्षा गरेअनुसारको परिणाम आउन नसकेको बताउनुभयो। ‘माओवादीको नेतृत्वमा वर्षौंदेखि रहेको लोडसेडिङ हटाउने सफल काम भयो’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘आर्थिक वृृद्धिदर बढाउने, महँगी घटाउने काम गरेर पनि जनतालाई बुझाउन नसक्नु कमजोरी रह्यो।’