‘संशोधन र महाअभियोग फिर्ता लेऊ’


काठमाडौं, (नेस)
नेकपा एमाले स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार बसेको छ। बैठकले सरकारका तर्फबाट व्यवस्थापिका संसद्मा दर्ता गरिएको राष्ट्रहित विपरीत तथा औचित्यहीन संविधान संशोधन विधेयक फिर्ता लिन तथा प्रधानन्यायाधीश माथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता गरी राजनीतिक सहमतिको वातावरण निर्माण गर्दै दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण ढंगले अघि बढाउन सरकारको गम्भीर ध्यनाकर्षण गरेको छ।

हालै सम्पन्न भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा देशका विभिन्न भागमा सत्ता संरक्षित अराजनीतिक गतिविधि तथा धाँधलीका बारेमा छानविन गर्न र दोषीउपर कारबाही गर्न तत्काल संसदीय समिति निर्माण गर्न बैठकले माग गरेको छ।

बैठकले दोस्रो चरणको निर्वाचनका लागि अविलम्ब उम्मेदवारको निर्णय र सिफारिस गर्न मातहत पार्टी कमिटीलाई निर्देशन गरेको छ र साथै पहिलो चरणका अनुभवबाट शिक्षा लिँदै पार्टीको विजयका लागि थप उत्साह र एकताबद्ध रूपमा अघि बढ्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ।
बैठकले पहिलो चरणको निर्वाचनका घटना र अनुभवबाट शिक्षा लिँदै स्थानीय औचित्य र आवश्यकताको आधारमा पार्टीको नेतृत्वसँग समन्वय गरी चुनावी तालमेल गर्न सक्ने अधिकार स्थानीय पार्टी कमिटीहरूलाई प्रदान गरेको छ।

वैशाख ५ गते रसुवाको गोसाइँकुण्ड वडा नं. ५ स्याफ्रुबेंसीका नेकपा एमालेका समर्थक फुर्पु साङ्वो तामाङलाई केही आपराधिक व्यक्तिहरूले ज्यान लिने उद्देश्यले आक्रमण गरी घाइते बनाएको र स्थानीय जनताको सहयोगमा ती अपराधीहरूलाई गिरफ्तार गरी प्रहरीसमक्ष बुझाएको तर उनीहरूलाई प्रहरीको सहयोगमा भगाइएको घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको एमालेले जनाएको छ।

बैठकले उक्त घटनाका अपराधीहरूलाई तत्काल गिरफ्तार गरी कारबाही गर्न र घाइतेको उपचारको व्यवस्था गर्न सरकारसमक्ष माग गरेको छ।