दोस्रो चरणको निर्वाचन, नयाँ सुरक्षा रणनीति बनाइँदै



नेपाल समाचारपत्र,काठमाडौं
निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचनका लागि गठन गरिएको उच्चस्तरीय सुरक्षा समितिसँग शनिबार छलफल गरेको छ।

छलफलका क्रममा पहिलो चरणको निर्वाचनमा कतिपय अवाञ्छित गतिविधि भएको भन्दै दोस्रो चरणको निर्वाचनमा केही संयमित हुन दलका कार्यकर्तालाई आग्रह गर्न लगाउने उद्देश्यले आयोगले चाँडै प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने तय गरिएको आयोग स्रोतले जनाएको छ।

जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी र राजनीतिक दलबीचमा निरन्तर सम्पर्क, सहयोग र समन्वयको वातावरण सिर्जना गर्न राजनीतिक दलहरूको जिल्लास्तरीय संयन्त्रलाई अझ बढी सक्रिय र प्रभावकारी तुल्याउन आवश्यक भएको बैठकले ठहर गरेको छ।
पहिलो चरणको निर्वाचनमा देखिएका सबल पक्ष र एकाध ठाउँमा भएका कमी कमजोरीको समग्र मूल्यांकन र विश्लेषण गर्दै बैठकले पहिलो चरणको निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको निष्कर्षसमेत निकालेको छ।

बैठकमा गृह मन्त्रालयले दोस्रो चरणको निर्वाचनका लागि तयार गरेको सुरक्षा योजनामा आवश्यक रणनीति परिमार्जन र थप कार्ययोजना बनाई आगामी बैठकमा पेस गर्ने निर्णय भएको आयोगले जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको उपस्थितिमा बसेको उक्त सुरक्षा समितिको बैठकमा निर्वाचन आयुक्तहरू नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल तथा सुधीरकुमार शाह, आयोगका सचिव गोपीनाथ मैनाली, गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी, रक्षा मन्त्रालयका सचिव श्रीधर सापकोटा तथा चारवटै सुरक्षा निकायका प्रमुख एवम् उच्च पदाधिकारी सहभागी रहनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्