हावाहुरीले १९ विद्यालयमा ३६ लाखको क्षती ,पठनपाठन प्रभावित


विनोद सिंह विष्ट,बैतडी

हावाहुरीले बैतडीका विभिन्न १९ ओटा विद्यालय भवनका छाना उडाउदा ३६ लाख बरावरको क्षती भएको छ ।
जिल्ला शिक्षा कार्यालयमा प्राप्त पछिल्लो तथ्यांक अनुसार केही दिन अघि देखि साँझपख पानीसंगै आइरहेको हावाहुरीले १९ ओटा विद्यालयका छाना उडाउदा पठनपाठन समेत प्रभावित बनेको छ ।

जिल्ला शिक्षा अधिकारी लाल सिंह टेरका अनुसार जिल्लाको मेलौली नगरपालिकामा रहेको सुदर्शन मावि लिखोडा र पुर्चौडीमा रहेको महादेव मावि भटनामा हावाहुरीले सबैभन्दा बढी क्षती गरेको छ ।

विद्यालयले दिएको मुचुल्काको आधारमा सुदर्शन माविमा ५ लाख ५० हजारको क्षती गरेको र महादेव माविमा ३ लाख ५० हजार बरावरको क्षती गरेको उहाँले बताउनुभयो ।

यस्तै जिल्लाको डिलाशैनी गाउँपालिकामा रहेको कफलाशैनी मावि पूजारी गाउँ , सिगास गाउँपालिकामा पूजारीखेत आधारभूत विद्यालय, केदार प्रावि मौरल्ला विजयपुर,गणेशमावि लेकमवस्ती सिगास र शिव निमावि गड्तौलाको छाना उडाएको छ ।

कालिका मावि सिद्धपुर, भुवनेश्वर मावि ठाँड बगाडी, निमावि पच्कोरा, नेपाल राष्ट्रिय निमावि गुरुखोला र देउमडा प्रावि गुरुखोला लगायतका विद्यालयहरुको पनि छाना उडाएको जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ ।

जिल्लाका विभिन्न १९ ओटा विद्यालय भवनको छाना हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या भएको छ । विद्यालयको छाना नभएपछि पानी परेको बेला विद्यालय बन्द गर्नुपरीरहेको विद्यालयहरुले जनाएका छन् । क्षति पुगेका विद्यालयको विवरण शिक्षा विभागमा पठाइसकेको उहाँले बताउनुभयो ।

तत्काल विद्यार्थी बस्नै नमिल्ने विद्यालयहरुका लागि जिल्ला दैवीप्रकोप उद्धार समितिले त्रिपालको व्यवस्था गर्ने जिल्ला शिक्षा अधिकारी टेरले बताउनुभयो ।

बैतडीका अन्य विद्यालयमा हावाहुरीले क्षती गरेकाले क्षतीको विवरण संकलन गर्ने कार्य भईरहेको जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ ।