असान्ज विरुद्ध जाँच बन्द गर्ने स्वीडेनको घोषणा


म माफ गर्दिनँ ः असान्ज

स्टकहोम, (एजेन्सी)
स्वीडेनले विकिलिक्स संस्थापक जुलियन असान्ज विरुद्ध बलात्कार मामिलाको छानबिन बन्द गर्ने घोषणा गरेको छ। वरिष्ठ अधिवक्ता मेरियानी नीले उनीसँगको बयान प्रायः असम्भव भएकाले उनी विरुद्धको गिरफ्तारी वारेन्ट रद्द भएको बताए।

जुलियन असान्ज सन् २०१२ देखि इक्वेडरको शरणमा छन र उनी बेलायत स्थित इक्वेडरको दूतावासमा आश्रय लिएर बसेका छन्। असान्ज आफूविरुद्ध लगाइएको उक्त मुद्दाको सामना गर्न स्विडेन जान डराउँछन्। स्विडेनले उनलाई अमेरिका समक्ष सुपुर्दगी गर्न सक्छ र त्यहाँ उनीविरुद्ध लाखांै सैन्य तथा कूटनीतिक दस्तावेज चुहावट गरेको मामिलामा मुद्दा चल्न सक्छ।

यसैबीच इक्वेडरले बेलायतसँग उनलाई देशबाहिर जान सुरक्षित बाटो दिन आह्वान गरेको छ। तर मेट्रोपोलिटन पोलिस सर्भिस (एमपीएस)ले असान्जले अझै पनि आफूलाई अदालतमा आत्मसमर्पण नगरेकोमा मुद्दा खेप्नुपर्ने र त्यसमा उनले एक वर्षको जेल सजाय वा जरिवाना तिर्नुपर्ने जनाएको छ। तर बेलायतले उनको सपुर्दगीका लागि अमेरिकाबाट कुनै आग्रह भएको छ वा छैन भन्ने विषयमा कुनै टिप्पणी गरेको छैन।

असान्जका स्विडिस वकिल पर स्यमुल्सनले अधिवक्ताहरूको निर्णयबाट आफ्नो पक्षको पूर्ण विजय भएको बताए। तर विकिलिक्स संस्थापकले ट्विटमार्फत उक्त निर्णयप्रति आक्रोशपूर्ण टिप्पणी गरेका छन्, बिनामुद्दा ७ वर्ष हिरासतमा … जबकी मेरो बच्चा हुर्किरहँदा र मेरो नाम कुख्यात बनेको थियो। म यसलाई माफ गर्न र बिर्सन सक्दिनँ।

अभियोजन पक्षबाट जारी गरिएको एक बयानमा भनिएको छ– ‘नागरिक अभियोजनका निर्देशकले आज जुलियन असान्जमाथि चलिरहेको रेपसम्बन्धी संदिग्ध मामिलाको जाँच बन्द गर्ने निर्णय गरेको छ। यौन उत्पिदनका सबै आरोपलाई असान्जले शुरूदेखि नै आधारहीन भएको बताउँदै आएका छन्। सन् २०१० मा स्टकहोममा सम्बोधन गर्न गएका असान्जमाथि यौन उत्पीडनको आरोप लागेको थियो।

आफ्नो वेबसाइट विकिलिक्सको माध्यमबाट इराक, अफगानिस्तान युद्ध तथा अमेरिकासँग सम्बन्धित गोप्य दस्तावेज जारी गरी असान्ज विश्वभरि चर्चित बनेका थिए। विश्वमा उनका लाखौं प्रसंसक छन् भने विश्वका थुप्रै देशले उनलाई सुरक्षाका दृष्टिकोणले खतरनाक मानिरहेका छन्। असान्जसँग काम गर्नेहरूले उनलाई कम्प्युटर कोडिंगका महारथी भएको र उनको बौद्धिकता र लगनले नै उनलाई यो उचाइमा पुर्याएको मान्छन्। आलोचकहरूले भने उनलाई प्रचारका भोको बताउँछन् भने प्रसंसकहरू उनलाई सत्यका सिपाही मान्छन्।

असान्जको जन्म सन् १९७१ मा उत्तरी अस्ट्रेलियमा भएको थियो। उनका आमाबुवा रंगमन्चमा आबद्ध थिए। त्यसैले उनको बाल्यकाल विभिन्न ठाउँमा फरक–फरक वातावरणमा बितेको थियो। १८ वर्षको उमेरमा उनी पिता बनेका थिए र पत्नीसँग छुट्टिएपछि बच्चाको कानुनी संरक्षणका लागि उनले लामो संघर्ष गरेका थिए।

अस्ट्रेलियायाली कम्प्युटर प्रोग्रामर असान्जले अफगानिस्तान र इराकसँग सम्बन्धित करिब ५ लाख गोप्य सैन्य फाइल विकिलिक्सको माध्यमबाट सार्वजनिक गरेका थिए। त्यसैले पनि अमेरिकाले उनको पक्राउका लागि गम्भिर पहल गर्न सक्ने उनलाई त्रास छ।

हालैमात्र अमेरिकी महान्यायधिवक्ता जेफ सेसन्सले असान्जलाई गिरफ्तार गर्नु उनको प्राथमिकता भएको बताएका थिए। यद्यपि असान्जमाथि लागेको आरोपका बारेमा अमेरिकी न्याय विभागबाट उनलाई कुनै आधिकारिक पुष्टि गराएको थिएन।