सबैतिर चुनावकै चर्चा


सुरेश तामाङ, ललितपुर
स्थानीय तहको निर्वाचन सकेको पाँच दिन बितिसकेको छ। पाँच दिन बितिसक्दा केही नगरपालिका र गाउँपालिकाबाहेक अन्तिम मत परिणाम आइसकेको छैन।

मत परिणाम सुस्त गतिमा आए पनि सबैको ध्यान मत गणनामै छ। चिया पसलदेखि बाटोघाटो, निजी कार्यालयदेखि सरकारी कार्यालयसम्म मत गणनाकै चर्चा हुने गरेको छ। त्यस्तै गरी सामाजिक सञ्जालहरूमा पनि चर्काेरूपमा चुनावी मत गणनाको बहस भइरहेको देख्न पाइन्छ।

चुनावको चर्चा र बहस सरकारी कार्यालयमा सरकारी कर्मचारीले कसरी गर्दा रहेछन भनेर हामीले बुझ्न खोज्यौं। यसै क्रममा ललितपुरको विभिन्न सरकारी कार्यालयमा पुग्दा कुनैमा थोरै चर्चा चलिरहेको देखिएको थियो भने कुनै कार्यालयमा चर्को बहस भइरहेको देखियो।

नतिजा आउन बाँकी रहेका चार महानगरपालिकाको उनीहरूलाई झन् बढी चासो थियो। विशेषतः चार महानगरपालिकामा भएको मत गणनाको सुस्तता, एमाले र कांग्रेसले लिएको अग्रताबारे नै चर्चा भइरहेको देखिएको थियो। उनीहरूको उत्सुकता थियो अब कस्ता व्यक्तिले महानगर हाक्लान्? यो सबैभन्दा ठूलो चासोको विषय बनेको थियो। यसै गरी ललितपुरमा साझा पार्टीको लिएको अग्रतालाई प्रमुख चर्चाका रुपमा लिइएको पाइन्थ्यो।

साझा पार्टीका तर्फबाट मेयरले ल्याएको तेस्रो स्थान र उपमयेरमा ल्याएको दोस्रो स्थान नै सबैभन्दा बढी चर्चाको विषय बनिरहेको थियो। यी अनेकौं कुराले गर्दा महानगरपालिकाका कर्मचारीमा कामभन्दा कुराकानीमा बढी समय बिताइरहेका थिए।

रिर्पोटिङको क्रममा ललितपुरका केही सरकारी कार्यालयहरू पुग्दा प्राय कार्यालयमा चुनावकै विषयमा बहस भइरहेको देखिन्थ्यो। जिल्ला प्रशासन कार्यायल, जिल्ला शिक्षा कार्यालय, महानगरपालिकालगायतका कार्यालयमा पुग्दा त्यहाँका अधिकांश कर्मचारी चियासँगै निर्वाचनका कुरामा व्यस्त थिए।

कामसँगै चुनावको चर्चा परिचर्चामा पनि उनीहरू उत्तिकै गफिँदै थिए। सबैलाई निर्वाचनमा कसले जित्यो र कुन पक्ष अगाडि छन् भन्ने चासो थियो। शुक्रबार १२ः३० बजे ललितपुर महानगरपालिका पुग्दा प्रायजसो आ–आफ्नै काममा व्यस्त देखिन्थे। तर चुनावको चर्चा भने त्यहाँ पनि कम थिएन। महानगरको प्रायजसो विभागमा व्यस्त जस्तो देखिए पनि कुनैले मोबाइलमा र कुनैले कम्प्युटरमा विभिन्न अनलाइन समाचार पोर्टलहरू खोलेर मत गणनाको पछिल्ला मत गणनाको परिणाम हेरिरहेको देखिन्थो।

महानगरको पाहुना बस्ने शुरूको स्थानमा एउटा टेलिभिजनको समेत व्यवस्था गरेको रहेछ। महानगरमा आउने प्रायजसो सेवाग्राही र महानगरकै केही कर्मचारीहरू अपडेट हेरिरहेका देखिन्थे।

त्यस्तै, करिब १ बजेतिर जिल्ला समन्वय समिति ललितपुर पुग्दा त्यहाँ झन् माहोल चुनावकै बनेको थियो। त्यहाँ प्राय कर्मचारीहरू सबै जसो चुनावकै चर्चामा व्यस्त देखिन्थे।

प्रत्येकले मोबाइलमा अपडेट हेर्दै फलानोको यति भएछ भन्दै गरेको दृश्यहरू देखियो। प्रायजसो सेवाग्राहीको कामले व्यस्त देखिने कर्मचारी यति बेला भने केही काम नभएर चुनावकै चर्चा गर्न व्यस्त रहेको देखिन्छ।