भरतपुर महानगरपालिकामा मतगणना सुरु



चितवन, १ जेठ । भरतपुर महानगरपालिकामा अहिले ४ः३० बजेदेखि मतगणना सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र दलहरुकाबीचमा मतगणनाका क्रममा अपनाइने आचारसंहिताका विषयको विवाद टुंगिएपछि मतगणना सुरु गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले मतपेटिकामा भएको मतको सङ्ख्याको आधार मान्य हुने जनाएको भएपनि दलहरुले मतदान स्थलमा गरिएको मुचुल्काको सङ्ख्या अनुसार हुनुपर्ने अडान राखेपछि मतगणनामा ढिलाइ भएको थियो । निर्वाचन आयोगको प्रचलित ऐन कानुन र विधिविधान अनुसार मतगणना गर्ने सहमति भएपछि मतगणना सुरु भएको हो । गणना १ नम्बर वडाबाट सुरु गरिएको छ ।
भरतपुर महानगरपालिकामा एक लाख ५० हजार २ सय ७४ मतदाता रहेकामा ७५ दशमलव ०२ प्रतिशत मत खसेको जनाइएको छ । यस अनुसार १ लाख १२ हजार ७ सय ४१ मत हुन आउँछ । महानगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका तर्फबाट संयुक्त रुपमा प्रमुख पदमा रेणू दाहाल र नेकपा एमालेका तर्फबाट देवीप्रसाद ज्ञवालीको उम्मेदवारी परेको छ । भरतपुरको कभर्डहलमा मतगणना थालिएको हो ।

भरतपुर महानगरपालिकामा २ लाख ८० हजार पाँच सय २ जनसङ्ख्या रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्