‘पनातिको हात समातेर भोट हाल्न जान्छु’



हेटौंडा,(नेस)

पछिल्लो स्थानीय निर्वाचन हुँदा हेटौंडा–२ का चिरञ्जीवी आचार्य ८२ औं वसन्त पार गर्दै थिए । हाल उनी उमेरले एक शताब्दी अर्थात् १०० वर्ष काटिसकेका छन् ।

पछिल्लो स्थानीय निर्वाचन २०५४ सालमा भएको थियो । त्यसयता आज आइतबार पहिलो चरणमा मकवानपुरमा निर्वाचन हुँदैछ । जसले गर्दा आचार्य निकै खुशी देखिन्छन् ।

२००७ सालदेखिकै परिवर्तनलाई नजिकबाट हेरिरहेका चिरञ्जीवीले मतदान गर्ने तीव्र इच्छा व्यक्त गर्दै भने, वैशाख ३१ गते सम्म त अब कसो नबाचौंला ? पनातिको हात समातेर भोट हाल्न जान्छु । करिब दुई दशकपछि हुन लागेको स्थानीय तह निर्वाचनले उनी उत्साहित देखिए । उनका एक छोरा, ५ नाति, २ नातिनी र १० पनाति÷पनातिनी छन् । उनको घरका १३ मतदाताले सिद्धार्थ मावि केन्द्रबाट भोट हाल्नेछन् ।

सहर, बजार र ग्रामीण क्षेत्रका चिया पसलमा समेत यतिबेला कुराकानी गर्ने प्रमुख विषय नै स्थानीय तह निर्वाचन बनेको छ । जनप्रतिनिधि नभएकै कारण विकासले गति लिन नसकेको आचार्यको तीतो अनुभव छ । एउटा सामान्य कामका लागि पनि सचिव खोज्दै सदरमुकाम हेटौंडा धाउनुपर्ने बाध्यताले सर्वसाधारण आक्रान्त भएको उनले बताए ।

२०५४ सालमा जन्मिएका शिशु जवान भएका छन् । जवान वयस्क भएका छन् भने वयस्क वृद्ध भएका छन् । लामो समयसम्म स्थानीय निर्वाचन नहुँदा मतदान गर्नबाट धेरै वञ्चित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्