पहिलोपटक भोट हाल्दै ५४ बनकरिया


हेटौंडा, (नेस)
आर्थिक विपन्नताका बाबजुद उनीहरू यसपटक केही खुसी देखिएका छन्। कारण, स्थानीय निकाय निर्वाचन। नेपालको इतिहासमा बनकरिया समुदायबाट स्थानीय तहमा पहिलोपटक मताधिकार प्रयोग गरिँदै छ।

देशमा मकवानपुरको हाँडीखोला, ट्वाङ्ग्रास्थित मुसेधापमा मात्र बसोबास गर्दैै आएका लोपोन्मुख बनकरियामध्ये ५४ जनाले यसपटक स्थानीय निकाय निर्वाचनमा भोट हाल्दै छन्। स्थानीय पशुपतिनाथ माविमा राखिएको केन्द्रमा उनीहरू पहिलोपटक मतदान गर्दै छन्। भन्छन्– भोट कहिले खसालूँजस्तो भाको छ। सदरमुकाम हेटौंडाबाट करिब २२ किलोमिटर दूरीमा रहेको साविक हाँडीखोला–१, ट्वाङ्ग्रास्थित मुसेधापमा बनकरिया समुदाय बस्छन्।

लोपोन्मुख बनकरिया जातिमा पुरुषभन्दा महिला अगाडि छन्। बनकरिया समुदायका पुरुषहरू चुलोचौका र जंगल छाडेर अन्यत्र जान अझै रुचाउँदैनन्।

४६ वर्षीया सन्तमाया ट्वाङ्ग्राडाँडास्थित बनकरिया विकास समूह र बस्ती बचाउ उपभोक्ता समितिकी अध्यक्ष हुन्।

उनले पनि आफूहरू भोट हाल्न हतारिएको बताइन्। सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन थालेपछि बनकरिया समुदायको आर्थिक विकास र चेतनामा सकारात्मक प्रभाव परेको छ।